काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू सुनाएकी छन् ।
काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताइन् ।
आयोजकहरूको निमन्त्रणापछि कार्यक्रममा सहभागी हुन सहर्ष स्वीकार गरेको उल्लेख गर्दै उनले यस्ता साहित्यिक कार्यक्रमले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।
आफ्नो व्यावसायिक जीवनबारे चर्चा गर्दै कार्कीले ३१ वर्ष वकालत पेशामा बिताएको, त्यसपछि न्यायाधीश र प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको स्मरण गरिन् ।
कार्कीले आफ्नो नातीको जन्म र श्रीमानको गम्भीर स्वास्थ्य अवस्थाबीच प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको भावुक क्षण पनि स्मरण गरिन् । सार्वजनिक जिम्मेवारीका कारण परिवारलाई पर्याप्त समय दिन नसकेको पीडा आफूले अनुभव गरेको उनले सुनाइन् ।
कार्कीले आफूलाई केवल प्रधानमन्त्री, न्यायाधीश वा कानुन व्यवसायीका रूपमा मात्र नहेर्न आग्रह गर्दै आफू साहित्यप्रेमी पनि भएको बताइन् ।
जीवनभर संचित गरेका कथा, अनुभव र अधुरा कृतिहरू प्रकाशित गर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै साहित्यिक समुदायले आफूलाई आफ्नै सदस्यका रूपमा स्वीकार गरिरहनुपर्ने अपेक्षा व्यक्त गरिन् ।