काठमाडौं । पिपुल फस्र्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकालको समीक्षा गर्दै १७ बुँदे प्रतिक्रिया सार्वजनिक गरेको छ ।
पार्टीका तर्फबाट डम्बर खतिवडाले जारी गरेको वक्तव्यमा सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको, सुशासन, न्याय, आर्थिक सुधार, कूटनीति तथा संविधान संशोधनलगायतका विषयमा गम्भीर कमजोरी देखिएको उल्लेख गरिएको छ ।
गत वर्षको जेनजी आन्दोलनपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत प्राप्त गरी चैत १३ गते गठन भएको सरकारले १०० दिन पूरा गरेको अवसरमा सार्वजनिक गरिएको समीक्षामा पार्टीले आन्दोलनका शहीद, घाइते तथा अपाङ्गप्रति न्याय सुनिश्चित गर्न सरकार असफल भएको आरोप लगाएको छ ।
जेनजी आन्दोलनसँग सम्बन्धित १० बुँदे सहमति कार्यान्वयन नगरेको, घटनाको छानबिन प्रभावकारी रूपमा अघि नबढाएको तथा दण्डहीनता अन्त्य गर्न नसकेको दाबी गरिएको छ ।
संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा गठन गरिएको कार्यदलप्रति पनि पार्टीले असहमति जनाएको छ । संविधान संशोधन राष्ट्रिय सहमतिबाट अघि बढाउनुपर्ने विषय भएकाले संसदबाट अनुमोदित, सबै पक्षको प्रतिनिधित्व हुने संविधान सुधार तथा संशोधन सुझाव आयोग गठन गर्नुपर्ने माग गरिएको छ ।
आर्थिक वर्ष २०८३÷८४ को बजेटलाई संरचनागत रूपमा कमजोर र प्रतिगामी भएको टिप्पणी गर्दै पार्टीले गरिब तथा श्रमिक वर्गप्रति बजेट असंवेदनशील रहेको जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन, उत्पादनमुखी अर्थतन्त्र तथा दीर्घकालीन आर्थिक सुधारतर्फ सरकारले स्पष्ट योजना प्रस्तुत गर्न नसकेको आरोप लगाइएको छ ।
सुशासनका क्षेत्रमा डिजिटल गभर्नेन्स, प्रशासनिक सुधार तथा मन्त्रालय संख्या घटाउने प्रयासलाई सकारात्मक रूपमा लिइए पनि केही मन्त्री तथा उच्च सरकारी पदाधिकारीमाथि उठेका विवादले सरकारको नैतिक छवि कमजोर बनाएको पार्टीको निष्कर्ष छ । भ्रष्टाचारविरुद्धको कारबाही निष्पक्ष हुनुपर्ने र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा अघि नबढाउन आग्रह गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको ‘नेपालले भारतको जमिन मिचेको’ अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने माग गरेको छ । साथै संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता कमजोर भएको भन्दै संसदीय लोकतन्त्रको मूल्यमान्यता कायम राख्न आग्रह गरिएको छ ।
कूटनीतिक क्षेत्रमा पनि सरकार अपेक्षाअनुसार सफल हुन नसकेको निष्कर्ष निकाल्दै पार्टीले छिमेकी मुलुक भारत र चीनसहित मित्र राष्ट्रसँग विश्वासमा आधारित सम्बन्ध विकास गर्न सरकारलाई आग्रह गरेको छ । कूटनीतिक भेटघाटको शैली पुनर्विचार गर्नुपर्ने तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने सुझाव वक्तव्यमा उल्लेख गरिएको छ ।
पिपुल फस्र्ट पार्टीले सरकारलाई जनअपेक्षा, सुशासन, सामाजिक न्याय, आर्थिक सुधार तथा प्रभावकारी कूटनीतिक सम्बन्ध सुदृढ गर्न तत्काल आवश्यक सुधारका कदम चाल्न आग्रह गरेको छ ।