दोहा (कतार), तिलविक्रम थेवे।
युमा साम्यो महासभा कतारले प्रत्येक वर्ष आन्तरिक रूपमा मनाउँदै आएको सिसेक्पा तङनाम (साउने सक्रान्ती) २०८३ यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ। गत शुक्रबार दोहाको नज्मास्थित गोरखा रेष्टुरेन्टको सभाहलमा आयोजित विशेष समारोहमा याक्थुङ (लिम्बु) समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महासभाका अध्यक्ष योगेन माखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तागेरानिङवाफु युमा माङको पूजा–अर्चना गरी कार्यक्रमको ब्यानर अनावरणसँगै औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष फूलमाया लिङदेनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने अर्का उपाध्यक्ष विष्णु केदेमले सिसेक्पा तङनामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए।
त्यसैगरी अध्यक्ष योगेन माखिम, उपमहासचिव मोसम साम्योक वेघा, सचिव इच्छिङ लिम्बु, कोषाध्यक्ष देवी थेगुवा, सांस्कृतिक संयोजक मुस्कान गाउँले (सोम आङबुहाङ) तथा वरिष्ठ सदस्य डम्बर केदेमलगायतले युमा साम्यो, युमामाङ, सिसेक्पा तङनाम तथा याक्थुङ (लिम्बु) समुदायका प्रमुख चाडपर्व, धर्म, संस्कार र संस्कृतिबारे विस्तृत जानकारी गराउँदै यसको संरक्षण र प्रवर्द्धनको आवश्यकतामाथि प्रकाश पारेका थिए।
कार्यक्रममा युमा साम्यो महासभा कतार कार्यसमिति, बचतकोषका सदस्यहरू तथा समुदायका अन्य सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। महासभाका कलाकारहरूले आकर्षक केःलाङ नृत्य प्रस्तुत गरेका थिए भने सांस्कृतिक संयोजक एवं गायक **मुस्कान गाउँले (सोम आङबुहाङ)**ले आफ्नो सुमधुर गायनमार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएका थिए।.jpeg)
सन् २०२२ मा स्थापना भएको युमा साम्यो महासभा कतार युमा साम्यो महासभा केन्द्रीय कार्यालय नेपाल तथा युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिसँग आबद्ध सामाजिक संस्था हो। संस्थाले कतारमा कार्यरत याक्थुङ (लिम्बु) समुदायलाई आफ्नो मौलिक धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि निरन्तर प्रेरित गर्दै आएको छ। साथै कतारमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थासँग समन्वय र सहकार्य गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई सक्रिय रूपमा अगाडि बढाउँदै आएको जनाएको छ।