तिलविक्रम थेवे | दोहा, कतार
किरात याक्थुङ चुम्लुङ (कियाचु) कतारले याक्थुङ (लिम्बु) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व सिसेक्पा तङनाम–५०८६ (साउने सङ्क्रान्ति २०८३) शुभकामना आदानप्रदानसहित भव्य रूपमा मनाएको छ।
गत शुक्रबार दोहाको नज्मास्थित गोरखा रेष्टुरेन्टको सभाहल मा आयोजित कार्यक्रममा दियो प्रज्वलन गरी तागेरानिङवाफु युमा माङको आशीर्वाद ग्रहण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रममा कियाचु कतारका अध्यक्ष सागर तुम्बाहाम्फे तथा प्रमुख अतिथि हर्क खजुम लिम्बु ले संयुक्त रूपमा ब्यानर अनावरण गरेका थिए।
कार्यक्रमको प्रारम्भमा कोषाध्यक्ष रविन चेम्जोङ लिम्बु ले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गर्दै शुभकामना व्यक्त गरे। महासचिव विरेन मादेन लिम्बु ले कार्यक्रम सञ्चालन गर्नुका साथै सन् २०२६–२०२८ कार्यकालका लागि मनोनयन भएका प्रमुख सल्लाहकार, विशेष सल्लाहकार तथा सल्लाहकारहरूलाई प्रमाणपत्र वितरणको सहजीकरण गरेका थिए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सोम माबोहाङ, प्रथम उपाध्यक्ष युवराज बेघा, द्वितीय उपाध्यक्ष राज आङला, तृतीय उपाध्यक्ष गौतम आङदेम्बे, उपमहासचिव चन्द्र पतङवा, सचिव प्रकाश नेयोङ, सहकोषाध्यक्ष जेम्स सेनेहाङ, सचिवालय सदस्य टिका मिभक, कार्यसमिति सदस्य उदय योङहाङ र एलिना खजुम सहित विशेष सल्लाहकार तथा सल्लाहकारहरू राजेन्द्र साम्याङखाम, डम्बर लिबाङ, सञ्जीव पतङवा, सञ्जय आङदेम्बे र खडक फागो लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस वर्षको सिसेक्पा तङनाम सबैका लागि सुख, शान्ति, समृद्धि र सहकालमय रहोस् भन्ने कामना गरेका थिए।
वक्ताहरूले सिसेक्पा तङनामसँग सम्बन्धित मुन्धुम, मिथक, लोकउक्ति, मुन्धुमी स्थल, माङगेनायक, सांस्कृतिक धरोहर, पर्वको ऐतिहासिक महत्व तथा याक्थुङ (लिम्बु) समुदायका प्रमुख चाडपर्व बारे विस्तृत जानकारी गराउँदै नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिप्रति जागरूक बन्न आग्रह गरेका थिए।
कार्यक्रममा कियाचु कतारका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा कतारमा कार्यरत याक्थुङ (लिम्बु) समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उल्लेखनीय छ, किरात याक्थुङ चुम्लुङ (कियाचु) कतार सन् २००२ (वि.सं. २०५९) मा स्थापना भएको संस्था हो। कतारमा कार्यरत याक्थुङ (लिम्बु) समुदायलाई आफ्नो मौलिक धर्म, संस्कार, संस्कृति तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि प्रेरित गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले प्रवासमा जातीय पहिचानको प्रतिनिधित्व गर्दै विभिन्न नेपाली संघ–संस्थासँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेको छ।