दोहा, कतार — "धनकुटा सेवा समाज कतारको चाहना, शुद्ध सामाजिक भावना" भन्ने मूल नाराका साथ सन् २००४ मा स्थापित धनकुटा सेवा समाज कतारले आफ्नो ९औं अधिवेशन तथा तीज विशेष चेलीबेटी भेटघाट कार्यक्रम २०२६ को सम्पूर्ण तयारी पूरा गरेको छ।
समाजले आगामी १८ सेप्टेम्बर २०२६ (शुक्रबार) का दिन प्लाजा मलस्थित वेल्फेयर रेष्टुरेन्टको सभाहलमा भव्य रूपमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम बिहान ११:३० बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष तिल बिक्रम मगरले जानकारी गराउनु भयो ।
कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुखहरू, सामाजिक अभियन्ता, पत्रकार, कलाकार, साहित्यकार, खेलाडी तथा विभिन्न पेशा र व्यवसायमा आबद्ध सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध सहित निमन्त्रणामा गरिएको समाजका महासचिव योगेन्द्र बरालले बताउनु भयो ।
कतारमा रहेका सम्पूर्ण धनकुटेली तथा नेपाली समुदायको निरन्तर साथ, सहयोग र शुभेच्छाका कारण समाज ९औं अधिवेशनको सुखद मोडसम्म आइपुगेको जनाउँदै आयोजकले नेपाली महिला हरुको महान पर्व हरितालिका तीजको अवसरमा चेलीबेटी भेटघाट तथा सांगीतिक/सांस्कृतिक माहोलसहित कार्यक्रमलाई सभ्य र भव्य बनाउने तयारी गरेको छ।
आयोजक परिवारले सम्पूर्ण कतारबासी नेपालीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुका साथै समाजको सामाजिक यात्रामा थप ऊर्जा र प्रेरणा प्रदान गर्न हार्दिक अनुरोध गरेको छ।