दोहा, कतार / बर्दघाट, नवलपरासी
नवलपरासी सेवा समाज कतारले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा कतार र नेपाल (गृहजिल्ला नवलपरासी) मा विविध भव्य एवं सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरी मनाएको छ।
गत ९ अक्टोबर २०२६ (शुक्रवार) का दिन कतारको एशियन टाउनस्थित प्लाजामलमा रहेको सम्सरा थकाली रेष्टुरेन्टको सभाहलमा संस्थाको आठौँ स्थापना दिवसको आन्तरिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भयो। संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष लोक प्रसाद न्यौपानेको सभापतित्व तथा प्रमुख संरक्षक दिपक सेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रममा संस्थापक संरक्षक केबि हमाल, संरक्षकहरू क्रमशः प्रेम पौडेल, सजन लौडारी र गोपाल थापा, प्रमुख सल्लाहकार दुर्गा हमाल तथा सल्लाहकारहरू सुरज कुवर र नर बहादुर थापा लगायत कार्यसमितिका पदाधिकारी, सदस्यहरू, बचतकोषका सदस्यहरू एवं कतारमा रहेका नवलपरासीबासी दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको उक्त कार्यक्रममा राष्ट्रियगान गाएर मातृभूमिप्रति सम्मान प्रकट गरिनुका साथै शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। महिला उपाध्यक्ष कमला भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण महासचिव बिश्नु शाहीले गर्नुभएको थियो। प्रमुख अतिथि लगायत अग्रज व्यक्तित्वहरूले संयुक्त रूपमा केक काटेर स्थापना दिवसको शुभकामना आदानप्रदान गर्नुभएको थियो। सो अवसरमा संस्थापक संरक्षक, संरक्षकहरू तथा सल्लाहकारहरूले संस्थाको निरन्तरता, सामाजिक योगदान र उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेपालमा अनाथ बालबालिकालाई दिवा भोजन, आर्थिक सहयोग र शुभकामना आदानप्रदान
कतारमा स्थापना दिवस मनाइँदै गर्दा सोही दिन नेपालस्थित गृहजिल्लाको बर्दघाट-१४ मा संस्थाका अध्यक्ष चन्द्र गुरुङको नेतृत्वमा विशेष सामाजिक कार्य सम्पन्न भएको छ।
स्थापना दिवस–२०८३ तथा आसन्न विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरूको संरक्षण गर्दै आएको 'सहयात्री नेपाल' मा आश्रित बालबालिकाहरूलाई दिवा भोजन गराउनुका साथै आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
सहयात्री नेपालका अध्यक्ष तिलु श्रेष्ठको व्यवस्थापकीय सहयोगमा सम्पन्न उक्त सामाजिक कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष सन्तबहादुर गाहामगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा संस्थाका संरक्षक कमल खरेल, उहाँकी धर्मपत्नी मिना खरेल, पूर्व सहकोषाध्यक्ष कृष्ण घिमिरे, संरक्षक कृष्ण पन्थीका पिता रामप्रसाद पन्थी, संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक सजन लौडारीकी माता तथा दाउन्ने देवी सहकारी संस्थाकी अध्यक्ष देवी लौडारी, वडा नं. ५ की वडा अध्यक्ष श्रीमती बिमला गुरुङ, सामाजिक अभियन्ता दामोदर जिसी, फोटोग्राफर दीपक गुरुङ लगायत विभिन्न सामाजिक अभियन्ता, समाजसेवी र शुभेच्छुकहरूको गरिमामय उपस्थिति रहेको थियो।
नवलपरासी सेवा समाज कतार परिवारले यस पुनीत र मानवीय कार्यलाई सफल बनाउन अमूल्य समय, साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण अतिथि, समाजसेवी, सहयोगी मनहरू तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिनुहुने सम्पूर्ण महानुभावहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गरेको छ।