दोहा, कतार
नेपालीहरूको महान् पर्व बडा दशैं, शुभ दीपावली तथा छठ पर्व–२०८३ को पावन अवसरमा कतारमा विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। मधेश प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा आगामी शुक्रबार, १६ अक्टोबर २०२६ का दिन उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।
मधेशको मौलिक पहिचान, कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम दोहास्थित लालिगुराँस रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजेदेखि सुरु हुने समाजका महासचिव इसिलाल पन्डितले जानकारी गराए ।
कार्यक्रमका मुख्य विशेषताहरू:
सांस्कृतिक प्रस्तुति: मधेशको मौलिकता र सांस्कृतिक विविधता झल्काउने विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू।
सामाजिक सद्भाव: विभिन्न जिल्ला संघ–संस्था, जातीय संस्था तथा नेपाली समुदायबीच भाइचारा, आपसी समझदारी र एकता सुदृढ गर्ने अवसर।
साझा पहिचान: वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूलाई व्यस्त जीवनका बीच आफ्नै माटो, संस्कृति र परम्परासँग जोड्ने माध्यम।
“मधेशको माटो, हाम्रो पहिचान, एकता र सहकार्य हाम्रो अभियान” भन्ने मूल नाराका साथ हुन लागेको यस कार्यक्रममा कतारमा क्रियाशील समाजसेवी, बुद्धिजीवी, पत्रकार, व्यवसायी, संघ–संस्थाका प्रतिनिधि तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन आयोजक संस्थाका अध्यक्ष कलाम हुसेन खानले हार्दिक निमन्त्रणा तथा अनुरोध गरेका छ्न ।
कार्यक्रम विवरण:
आयोजक: मधेश प्रदेश समन्वय परिषद्, कतार
मिति: शुक्रबार, १६ अक्टोबर २०२६
समय: दिउँसो १:०० बजेदेखि
स्थान: लालिगुराँस रेस्टुरेन्टको सभा हल, कतार
यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक सहिष्णुतालाई थप प्रगाढ बनाउँदै मधेशको पहिचान उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।