एजेन्सी । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ ।
बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।
हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट (ग्लोफ) भनिन्छ ।
यस्तो बाढी पहाडी खोँच हुँदै तीव्र गतिमा तलतिर बग्ने क्रममा हिलो, ढुङ्गा तथा अन्य अवशेषसमेत बगाएर लैजान सक्छ । यसले सडक, पुल तथा बस्तीमा ठूलो क्षति पु¥याउन सक्छ ।
डेली भुटानले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हिमताल विस्फोटपछि आएको बाढीले गासा जिल्लामा मोछु नदी किनारमा रहेको चर्चित गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ । क्षतिको वास्तविक अवस्था भने अझै मूल्यांकन भइरहेको छ ।
त्यस्तै, पुनाखा–गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१.८५ किलोमिटर नजिकको सडक खण्ड पनि पूर्ण रूपमा बगाएको छ । त्यसपछि अधिकारीहरूले अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सबै प्रकारका सवारीसाधन आवागमन बन्द गरेका छन् ।
यात्रुहरूलाई अत्यावश्यक नभएसम्म यात्रा स्थगित गर्न वा प्रस्थान गर्नुअघि वैकल्पिक यातायात तथा मार्गको व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ ।
गत बिहीबार अक्टोबर २९ को साँझ भुटानको उत्तरी गासा जिल्लास्थित लुङ्गोको लाया गेओगमा वाकिला हिमाल नजिक रहेको सिन्ताफु तालमा हिमताल विस्फोट भएको बताइएको छ ।
डेली भुटानका अनुसार बिहीबार राति करिब ८ः१५ बजे बाढीको पानी तक्त्सेमाखाङ पुगेको थियो । बाढीले दुर्गम उच्च पहाडी बस्ती लाया जोड्ने सडकको एक खण्डमा क्षति पु¥याएपछि उक्त सडक बन्द गरिएको थियो । लाया भुटानका दुर्गम उच्च पहाडी बस्तीमध्ये एक हो ।