दोहा, कतार
गैरआवासीय नेपाली संघ (NRNA) को आयोजनामा आगामी ११–१२ डिसेम्बर २०२६ मा कतारको दोहामा आयोजना हुन गइरहेको ९औँ NRNA मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी, उद्देश्य र प्राथमिकताका विषयमा जानकारी गराउने हेतुले ३० नोभेम्बर २०२६ का दिन कतारको राजधानी दोहामा प्रारम्भिक पत्रकार सम्मेलन सम्पन्न भएको छ।
‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनबारे जानकारी गराउन भौतिक (प्रत्यक्ष) तथा भर्चुअल दुवै माध्यमबाट सञ्चारकर्मीहरूसँग संवाद गरिएको थियो।
पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको मुख्य विषय सम्मेलनको ब्यानरमा विशेष महत्वका साथ राखिएको ‘सहयात्रा’ को अवधारणा थियो। कार्यक्रममा स्पष्ट पारिए अनुसार सहयात्राको अर्थ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC), राष्ट्रिय समन्वय परिषद् (NCC), मध्यपूर्वमा क्रियाशील सामाजिक संघ-संस्था तथा अन्य सरोकारवाला निकायहरूबीच आपसी समझदारी र साझेदारी कायम गर्दै अघि बढ्नु हो। यो अभियान कुनै व्यक्ति वा एक संस्थामा मात्र सीमित नभई मध्यपूर्वका आम नेपाली श्रमिक, उद्यमी तथा सामाजिक अभियन्ताहरूलाई एउटै मञ्चमा जोड्ने प्रयास भएको बताइएको छ।
सम्मेलनका मुख्य प्राथमिकता तथा उठाइने एजेन्डाहरू
आयोजकका अनुसार सम्मेलनले मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकहरूको हक, हित र अधिकारलाई मुख्य केन्द्रमा राख्नेछ। सम्मेलनमा विशेष गरी निम्न विषयहरू प्राथमिकताका साथ उठाइनेछ:
सुरक्षित श्रम आप्रवासन र न्यूनतम पारिश्रमिकको सुनिश्चितता
सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आबद्धता
वैधानिक (बैंकिङ) माध्यमबाट रेमिट्यान्स प्रवाह
सीप तथा प्रविधि हस्तान्तरण
मध्यपूर्वमा रहेका नेपालीहरूको सामूहिक लगानीका सम्भावनाहरू
यी एजेन्डालाई परिणाममुखी बनाउन नेपाल सरकारका सम्बन्धित निकाय, एनआरएनएका विभिन्न तह, सामाजिक संघ-संस्था र श्रमिकहरू स्वयंबीच निरन्तर समन्वय हुनुपर्ने धारणा व्यक्त गरिएको थियो।
पत्रकार सम्मेलन मध्यपूर्व संयोजक एवं मूल आयोजक समितिका संयोजक रमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।
भर्चुअल माध्यमबाट मध्यपूर्व सदस्य सचिव बासुदेव सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
प्रत्यक्ष (भौतिक) कार्यक्रमको सञ्चालन एनसीसी कतारका सचिव शंकर राईले गर्नुभएको थियो भने एनसीसी कतारका अध्यक्षले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
स्वागत मन्तव्यपछि संयोजक रमेश श्रेष्ठले सम्मेलनको औचित्य, तयारी र क्षेत्रीय मुद्दाहरूबारे विस्तृत प्रकाश पार्नुभयो। प्रत्यक्ष र भर्चुअल रूपमा सहभागी पत्रकारहरूले सम्मेलनको प्राथमिकता, तयारी र कार्यान्वयनका पक्षमा प्रश्न राखेका थिए, जसको स्पष्टीकरण संयोजक श्रेष्ठले दिनुभयो। त्यस्तै, मिडिया व्यवस्थापन र सञ्चार समन्वयसम्बन्धी जिज्ञासाको जवाफ मध्यपूर्व उपसंयोजक तथा मिडिया व्यवस्थापन समितिका संयोजक करिम बक्स मियाँले दिनुभएको थियो।
आफ्नो सम्बोधनका क्रममा संयोजक रमेश श्रेष्ठले यो सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वका लाखौँ नेपाली श्रमिकहरूको आवाज मुखरित गर्ने साझा अभियानका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय अध्यक्ष डा. हेमराज शर्मा लगायत विभिन्न तहका पदाधिकारीहरूले सम्बोधन गर्दै सम्मेलनको सफलताको शुभकामना दिनुभयो। मध्यपूर्व क्षेत्र एनआरएनएको ऐतिहासिक एवं अभिन्न हिस्सा भएको उल्लेख गर्दै नेतृत्वले यस क्षेत्रका श्रमिकका सवालहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठाउन केन्द्रको पूर्ण सहयोग र ऐक्यबद्धता रहने आश्वासन दिएको छ।
पत्रकार सम्मेलनमा कतारमा क्रियाशील विभिन्न वैचारिक, जातीय, क्षेत्रीय, सांस्कृतिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सम्मेलनको उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै आ-आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
आयोजकका अनुसार यो पत्रकार सम्मेलन प्रारम्भिक सञ्चार समन्वयको पहिलो चरण मात्र हो। आगामी दिनमा थप प्रेस विज्ञप्ति र मिडिया ब्रिफिङमार्फत जानकारीहरू सार्वजनिक गरिँदै लगिनेछ। साथै, विभिन्न क्षेत्र र सरोकारवालाबाट प्राप्त हुने सुझावहरूलाई समेटेर मूल सम्मेलनका एजेन्डालाई अझ परिष्कृत र व्यवस्थित बनाइने जानकारी दिइएको छ।