पार्वती भण्डारी, नेपाल न्यूज बैंक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका सीमा विवाद, सन्धि–सम्झौता र आर्थिक मुद्दालाई स्पष्ट रूपमा उठाउन पूर्व राजदुतहरूले सुझाव दिएका छन् । बलियो जनमतसहित निर्वाचित सरकारका प्रधानमन्त्रीले राष्ट्रिय मुद्दा उठाउँदा संकोच मान्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ ।
प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा सम्पन्न निर्वाचनबाट भारी मतसहित निर्वाचित प्रधानमन्त्रीको यो भ्रमणलाई नेपालको नयाँ राजनीतिक शक्ति र भारतसँगको सम्बन्धको आगामी दिशासँग जोडेर हेरिएको छ ।
चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपालको असंलग्न परराष्ट्र नीतिको सिद्धान्तभित्र रहेर राष्ट्रिय हितका विषय स्पष्ट रूपमा राख्नुपर्ने बताए ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । तर, भ्रमणलाई दुई देशका सरकार प्रमुखबीचको औपचारिक भेटघाटमा मात्र सीमित गर्न नहुने उनको भनाइ छ ।
उनले विगतमा भएका सन्धि, सम्झौता तथा समझदारी, सीमा विवाद र आर्थिक मुद्दालगायतका विषयमा गम्भीर छलफल हुनुपर्ने बताए ।