नेपाल न्यूज बैंक
काठमाडौं । सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता जनाएका थिए ।
लामिछानेको मधेस यात्रालाई धार्मिक आस्थासँगै पार्टीको राजनीतिक आवश्यकतासँग जोडेर पनि हेर्न सकिन्छ । मधेसमा रास्वपाको संगठन विस्तार र आन्तरिक व्यवस्थापन अझै चुनौतीपूर्ण अवस्थामा रहेको पृष्ठभूमिमा उनको छठ सहभागिता अर्थपूर्ण देखिएको हो ।
रास्वपाले असार ७ देखि १२ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको छ । महाधिवेशनबाट लामिछाने सभापतिमा निर्विरोध चयन भएका छन् । तर, केन्द्रीय नेतृत्व चयन भइसक्दा पनि मधेस प्रदेशमा पार्टीको संगठनात्मक संरचना व्यवस्थित हुन नसकेको मधेशका रास्वपा कार्यकर्ताले गुनासो गर्दै आएका छन् । मधेसका आठ जिल्लामध्ये पर्सामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वडा तथा पालिका तहदेखि नै विवाद देखिएको छ ।
रास्वपाले जेठ २८ गते मधेस प्रदेश अधिवेशन गर्ने तयारी गरेको भए पनि जेठ २६ गते केन्द्रीय निर्वाचन आयोगले अधिवेशनसँग सम्बन्धित गतिविधि स्थगित गरेको थियो । अधिवेशन निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न आवश्यक देखिएको भन्दै आयोगले यस्तो निर्णय गरेको थियो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एउटै पालिकामा दुईपटक अधिवेशन गरेर दुईवटा समिति गठन भएको दाबी भएपछि विवाद केन्द्रसम्म पुगेको थियो । वडा र पालिका तहकै विवाद समाधान हुन नसक्दा प्रदेश अधिवेशनसमेत अनिश्चित बनेको छ । यस्तो अवस्थामा लामिछानेको जनकपुरदेखि मटिहानीसम्मको उपस्थितिलाई मधेसमा पार्टीको राजनीतिक पहुँच विस्तार गर्ने र आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने प्रयासका रूपमा पनि विश्लेषण गर्न सकिन्छ ।