दोहा, कतार : प्रवासको व्यस्त दैनिकी र कतारको चिसिँदो मौसमबीच शुक्रवार अल वकिरस्थित डीपीएस मोनार्क स्कुलको प्रेक्षालय नेपाली गीत–सङ्गीत र मौलिक संस्कृतिले तात्यो । नब्बेको दशकको चर्चित नेपाली ब्यान्ड ‘लेकाली’को प्रत्यक्ष प्रस्तुति र सातै प्रदेश झल्काउने सांस्कृतिक कार्यक्रमले कतारमा रहेका नेपालीहरूलाई एउटै सूत्रमा बाँधेको छ ।
श्रमिक कल्याणकारी कोष स्थापनार्थ गण्डकी प्रदेश समन्वय परिषद् कतार तथा परिषद् मातहतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न ‘शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम–२०२६’ मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वको सन्देश दिन सफल रह्यो ।
नवीन गुरुङको आवाजमा झुम्यो दोहा
घण्टौँ लामो प्रतीक्षापछि साँझ करिब ५ बजे मञ्चमा उक्लिएको लेकाली ब्यान्डलाई खचाखच भरिएको हलले ताली र हुटिङका साथ भव्य स्वागत गर्यो । मुख्य गायक नवीन गुरुङले दसैँ, तिहार र छठलगायतका चाडपर्वको शुभकामना दिँदै गायन सुरु गरेपछि माहौल झनै रोमाञ्चक बनेको थियो ।
करिब डेढ घण्टासम्म चलेको प्रस्तुतिमा ब्यान्डले ‘यो मुटुमा’ लगायत एक दर्जनभन्दा बढी कालजयी गीतहरू पस्कियो । नब्बेको दशकका लोकप्रिय गीतहरू प्रत्यक्ष सुन्न पाउँदा उत्साहित बनेका दर्शकहरूले गायकसँगै स्वरमा स्वर मिलाउँदै नाचेर भरपुर मनोरञ्जन लिए ।
कार्यक्रमको अर्को मुख्य आकर्षण सातै प्रदेशको सांस्कृतिक विविधता थियो । परिषद् मातहतका जिल्ला संस्थाका कलाकारहरूले थाली नाच, लोकगीत र युगल नृत्यमार्फत आ–आफ्नो मौलिक कला प्रस्तुत गर्दा कतारको उक्त मञ्च ‘मिनी नेपाल’ जस्तै देखिएको थियो ।
न्यून औपचारिक मन्तव्य र भरपूर मनोरञ्जनमा केन्द्रित कार्यक्रममा वक्ताहरूले श्रमिकको हितलाई सर्वोपरि राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आईसीसीका पूर्व अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) ले श्रमिक कल्याणकारी कोष स्थापना गर्नु अत्यन्तै प्रशंसनीय कार्य रहेको उल्लेख गर्दै यस अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरे । यस्तै, एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले श्रमिकमुखी यस्ता सिर्जनात्मक कार्यक्रमले प्रवासमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्दलाल विक (अजय) को सभाध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य राखेका थिए भने महासचिव मनप्रसाद राना मगरले कार्यक्रमको सहजीकरण गरेका थिए ।
भिक्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरूको हौसला बढाउन लेकाली ब्यान्डका सदस्यहरूको हातबाट नगद पारिश्रमिक तथा सम्मानपत्र प्रदान गरिएको थियो ।