दोहा, कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीले आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा आयोजना हुन लागेको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको आयोजना गर्ने जिम्मेवारी कतारलाई प्रदान गरेकोमा एनआरएनएको केन्द्रीय नेतृत्व, मध्यपूर्व क्षेत्रीय समिति तथा मध्यपूर्वका सम्पूर्ण एनसीसीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
आतिथ्य राष्ट्रको प्रमुखको हैसियतले एक विशेष सन्देश जारी गर्दै अध्यक्ष पन्थीले मध्यपूर्व क्षेत्रकै महत्त्वपूर्ण क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर र जिम्मेवारी कतारलाई प्रदान गरी विश्वास र समर्थन देखाएकोमा सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको हो।
“नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गर्ने महत्त्वपूर्ण जिम्मेवारी कतारलाई सुम्पिएर यहाँहरूले देखाउनुभएको विश्वास, साथ र समर्थनप्रति एनसीसी कतारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूले गर्नुभएको विश्वासलाई उत्कृष्ट आतिथ्य र व्यवस्थापनमार्फत सार्थक बनाउने हाम्रो प्रतिबद्धता छ,” सन्देशमा भनिएको छ।
‘सहयात्रा — Journey Together’ भन्ने मूल नाराका साथ दोहास्थित र्याडिसन ब्लु होटलमा आयोजना हुने उक्त सम्मेलनको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष पन्थीले सम्मेलनलाई भव्य, सभ्य र उपलब्धिमूलक बनाउन सबैको सहभागिता उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभएको छ। उहाँले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका एनसीसी, श्रमिक अगुवा, सामाजिक अभियन्ता तथा विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई सम्मेलनमा सहभागी हुन र सहभागिता सुनिश्चित गर्न सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको छ।
“आयोजनाका लागि यहाँहरूले दिनुभएको साथ र समर्थनले हामीलाई थप उत्साहित बनाएको छ। अब सम्मेलनलाई ऐतिहासिक र परिणाममुखी बनाउन यहाँहरूको गरिमामय उपस्थिति आवश्यक छ। त्यसैले डिसेम्बर ११ र १२ मा दोहामा उपस्थित भई सम्मेलनको सफलतामा योगदान पुर्याउन सम्पूर्ण एनसीसी तथा विश्वभरका नेपाली अभियन्ताहरूलाई हार्दिक अनुरोध गर्दछु,” अध्यक्ष पन्थीले भन्नुभयो।
यसैगरी, सम्मेलनको सफल आयोजना र आउने अतिथिहरूको भव्य स्वागतमा एकताबद्ध भएर सहयोग गर्नसमेत उहाँले कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था, बुद्धिजीवी, व्यवसायी तथा श्रमिक समुदायलाई अपिल गर्नुभएको छ।
यस सम्मेलनले मध्यपूर्वमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सद्भाव अभिवृद्धि गर्नुका साथै सुरक्षित श्रम आप्रवासन, श्रमिक अधिकार र प्रवासी नेपालीका साझा मुद्दाहरूलाई थप प्रभावकारी रूपमा उठान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पन्थीले व्यक्त गर्नुभएको छ।
सम्मेलनको संक्षिप्त विवरण:
कार्यक्रम: नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन २०२६
नारा: सहयात्रा — Journey Together
मिति: डिसेम्बर ११–१२, २०२६
स्थान: र्याडिसन ब्लु होटल, दोहा, कतार
