दोहा (कतार) — प्रवासमा रहेका नेपाली दर्शक तथा संगीतप्रेमीहरूलाई आफ्ना चर्चित गीतहरूमार्फत नचाउन नेपालकी लोकप्रिय गायिका मेलिना राई कतार आउने भएकी छन्। सुनुवार सेवा समाज शाखा, दोहा–कतारको १७औँ वार्षिक उत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ मा विशेष सांगीतिक प्रस्तुति दिन गायिका राई कतार आउन लागेकी हुन्।
नेपाली कला, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त बृहत् सांस्कृतिक उत्सव आगामी २७ नोभेम्बर २०२६ शुक्रबारका दिन कतारको वाकिरस्थित DPS School Auditorium मा हुनेछ। आयोजक संस्थाका अध्यक्ष गङ्गाबहादुर सुनुवारका अनुसार कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेकी गायिका राईको प्रत्यक्ष प्रस्तुति हेर्न र उहाँका गीतमा झुम्न कतारमा रहेका नेपालीहरू निकै उत्साहित देखिएका छन्। 'कुटुमा कुटु', 'कम्मरै भाँचिदेऊ', 'जालमा', 'शिरैमा शिरबन्दी', 'तिम्रो आँखामा', 'पिरतीको मिठो तिर्सना', 'नरिसाउ न माया' र 'हेर न हेर कान्छा' जस्ता दर्जनौँ सुपरहिट गीतकी गायिका राईले वाकिरको मञ्च तताउने अपेक्षा गरिएको छ।
सांस्कृतिक कार्यक्रममा गायिका राईसँगै कतारमै सक्रिय स्थानीय नेपाली कलाकारहरूको पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहने संस्थाका महासचिव बिनिता सुनुवारले जनाउनु भएको छ
प्रवासको व्यस्तताका बाबजुद आफ्नो मौलिक पहिचान र संस्कृति जोगाइराख्न तथा नेपाली समुदायबीच आपसी सद्भाव र एकता अझ बलियो बनाउन वार्षिकोत्सव आयोजना गरिएको सुनुवार सेवा समाज शाखा, दोहा–कतारले स्पष्ट पारेको छ। संस्थाले कतारवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई भव्यताका साथ सफल बनाइदिन हार्दिक निमन्त्रणा समेत गरेको छ।