काठमाडौं, ९ मंसिर २०८३ — प्रतिनिधि सभाका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय समितिको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र रूपमा अघि बढाइएको छ।
कतारको राजधानी दोहामा आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा 'सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान' भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त भव्य सम्मेलनमा सभामुख अर्यालसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दीपक काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेल, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, नेकपाका रमेश मल्ल तथा राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेकी प्रमुख सचेतक रोशनी मेचेको विशेष सहभागिता रहने मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले जानकारी दिएका छन्।
मध्यपूर्वका विभिन्न मुलुकमा करिब २५ लाख नेपाली श्रमिक कार्यरत रहेको सन्दर्भमा उनीहरूले भोगिरहेका व्यावहारिक समस्या, चुनौती र नीतिगत जटिलताहरूलाई सिधै नेपालको संसद् तथा सरकारसम्म पुर्याई समाधानका लागि गम्भीर ध्यानाकर्षण गराउने उद्देश्यले विभिन्न राजनीतिक दलका उच्च प्रतिनिधिलाई एकै मञ्चमा सहभागी गराउन लागिएको संयोजक श्रेष्ठले स्पष्ट पारे।
सम्मेलनअन्तर्गत सञ्चालन हुने आठवटा छुट्टाछुट्टै विषयगत सत्रमार्फत मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, वैदेशिक रोजगारीलाई अझ व्यवस्थित र मर्यादित बनाउने उपाय, श्रमिकका हकअधिकार, नेपाली डायस्पोराको पुँजी र लगानी नेपालको विकास तथा आर्थिक समृद्धिसँग जोड्ने रणनीति, नेपाल र मध्यपूर्वबीचको सम्बन्धलाई श्रम आप्रवासनमा मात्र सीमित नराखी पर्यटन तथा फराकिलो आर्थिक साझेदारीमार्फत विस्तार गर्ने सम्भावनाका साथै महिला सशक्तीकरण र युवा पुस्ताका सरोकारमाथि गहन बहस गरिनेछ।
यसैगरी, विगतमा श्रमिकका समस्या र चुनौतीबारे मात्र चर्चा हुने गरेकोमा यसपटक श्रमिकका रूपमा मध्यपूर्व पुगेर आफ्नै व्यवसाय विस्तार गर्दै हजारौँलाई रोजगारी दिने हैसियत बनाएका नेपाली उद्यमीहरूका सकारात्मक र प्रेरणादायी सफलताका कथासमेत उजागर गरिने आयोजकले जनाएको छ,