मुग्लानी खबर चैत्र २१ शुक्रबार
आज मिति सम्ममा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २०३९ पुगेको छ । आज थप १५४ जना संक्रमण भेटिएको छ भने कुल संक्रमितहरु मध्ये हालसम्म ३५१ जना निको भएका छन् । आज ४ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २५ पुगेको छ । साउदी अधिकारीहरुबाट प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा संक्रमण पाईएको छैन भन्दै नेपाली राजदुतावास रियादले जानकारी दिएको हो।
कोरोना भाइरसको संक्रमण रोक्नकालागि साउदी सरकारले कडाईका साथ आजको मिति २०७६।१२।२१ (अप्रिल ३, २०२०) शुक्रबारबाट लागू हुने गरी पूर्वी क्षेत्र दम्माम, ताइफ र कतिफ (Dammam, Taif and Qatif)मा अर्को सूचना जारी नगरे सम्मकालागि दिनको ३ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । तसर्थ सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नुहुन अनुरोध समेत गरेको छ ।
साउदी अरब मात्र नरहेर मुश्लिम धर्मालम्वीहरूको माहान मश्जित मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले हिजो देखि अर्को सूचना नभएसम्मका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ । तसर्थ सो क्षेत्रमा रहनुहुने नेपालीहरुले पनि कर्फ्यूको २४ घण्टे समयलाई पालना गर्नुहुन अनुरोध छ । रियाद क्षेत्रको कर्फ्यूको समय यथावत् दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म रहेको छ ।
कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु सामाजिक संजालमा नराख्नुहुन पनि सबैमा पुनः अनुरोध रहेको छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किन राजदुतावासले अाव्हान गर्दै अाव्हान पालना गर्ने अादेश जारी गरेको छ ।
साउदी अरबमा दिनानु दिन कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले आउँदा दिनहरुमा पनि संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावासले अनुरोध गरेको छ । कृपया सावधानी र सचेताका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजना बीच पुर्याउन एक अर्कालाई मद्दत गरौं ।