नयाँदिल्ली, ३० चैत (रासस–एएफपी)
दक्षिण एसियाली मुलुकहरुले गरिबी विरुद्धको संघर्षमा पछिल्ला दशकमा हासिल गरेका उपलब्धिलाई कोरोनाभाइरसको महामारीले जोखिममा पार्दै ४० वर्षयताकै सबैभन्दा कमजोर आर्थिक स्थिति उत्पन्न हुन लागेको विश्व बैंकले जनाएको छ ।
झण्डै एक अर्ब ८० करोड जनसंख्या बसोबास रहेका भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाल र अरु साना मुलुकहरुमा सापेक्षित रुपमा कोरोनाभाइरस संक्रमितको संख्या कमै देखिएको छ, तर विज्ञहरुको भनाईमा यो क्षेत्रमा संक्रमणको खतरा उच्च बिन्दुमा रहेको छ ।
कोरोनाभाइरसको गम्भीर आर्थिक प्रभावका प्रमाणहरु देखिन थालिसकेका छन् । बन्दाबन्दी (लकडाउन) का कारण आम जनजीवन निस्कृय भएको छ । पश्चिमा मुलुकबाट हुने सामानको मागमा व्यापक कमी आएको छ भने ठूलो संख्याका कामदारहरु बेरोजगार भएका छन् ।
“दक्षिण एसियामा नकारात्मक असरको आँधी नै अनुभव गर्न थालिसकिएको छ । पर्यटन क्षेत्रमा सुख्खा लागेको छ, आपूर्ति प्रणालीमा अबरोध आएको छ, गार्मेन्टको माग हुन छाडेको छ र उपभोक्ता एवं लगानीकर्ताको उत्साहमा कमी देखिएको छ,” विश्व बैंकको प्रतिवेदनमा भनिएको छ ।
बैंकले यस वर्षको यस क्षेत्रको आर्थिक विकासको पूर्वानुमान घटाएर १.८–२.८ प्रतिशत बनाएको छ । कोरोना महामारीअघि विश्व बैंकले यस क्षेत्रको वृद्धिको पूर्वानुमान ६.३ प्रतिशतको प्रक्षेपण गरिएको थियो । यस क्षेत्रका कम्तिमा आधा देशहरू “गहिरो आर्थिक मन्दी” मा फस्ने देखिएको छ ।
सबैभन्दा खराब असर माल्दिभ्समा हुनेछ जहाँ पर्यटन क्षेत्रको नोक्सानीको परिणामस्वरूप सकल घरेलु उत्पादन १३ प्रतिशतले संकुचित हुनेछ, जबकि अफगानिस्तान ५.९ प्रतिशत र पाकिस्तानको २.२ प्रतिशतले संकुचित हुनेछ ।
वित्तीय वर्ष अप्रिल १ बाट शुरु हुने दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको भारतको चालू आर्थिक वर्षमा १.५ देखि २.८ प्रतिशत मात्र वृद्धि हुने अनुमान विश्व बैंकको छ । भारतमा भर्खरै समाप्त भएको आर्थिक वर्षमा ४.८ देखि ५.० प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।