धर्मेन्द्र झा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ। तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताका साथै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ।
यो आयोजन चर्चामा आउने एउटामात्र कारण छैन। यसमा सहभागी खेलाडी र यसप्रतिको क्रेजका कारण पनि एनपीएल चर्चामा छ।
यतिखेर यस्तै चर्चाका पात्र बनेका छन् एक किशोर राहुल। रौतहट चन्द्रनिगाहपुरका खेलाडी राहुलले १६ वर्षको उमेरमै एनपीएल खेल्ने मौका पाए र उनले आफूलाई अब्बल प्रमाणित गरे। जनकपुर बोल्ट्सका ‘आइकोनिक खेलाडी’ राहुल यादव केही दिनअगाडि मात्रै ‘ट्यालेन्ट हन्ट’मार्फत छानिएका हुन्। राहुलले मंगलबार टिमको पहिलो खेलमै मौका पाए। हरेक फ्रेन्चाइज टोलीमा आइकोनिक खेलाडी अनिवार्य गरिएको छ। स्थानीयस्तरमा उत्कृष्ट प्रदर्शन गरेका एक खेलाडीलाई हरेक टिमले आइकोनिक खेलाडीका रूपमा राख्ने गर्दछ। तर, टिममा परे पनि सबै आइकोनिक खेलाडीले खेल्ने मौका भने पाउँदैनन्।
राहुलले भने जनकपुरको पहिलो खेलमै खेल्ने मौका पाए। उनको सपना (ड्रिम) थियो खेलमा ‘डेब्यु’ गर्ने अर्थात् पहिलोपटक मैदानमा प्रवेश गर्ने। मंगलबार उनको ‘ड्रिम डेब्यु’ साकार भएको थियो। गत संस्करणमा खराब लयमा रहेको जनकपुरले पहिलो खेलमै राहुललाई मौका दियो। मैदानमा उनको प्रवेशसँगै धेरै समर्थक आश्चर्यमा परेका थिए।
राहुलले पाएको मौकाको सदुपयोग मात्रै गरेनन्, सबैको ध्यान आफूतिर ताने। त्यो कारण थियो राहुलको पहिलो एनपीएल, पहिलो खेल, पहिलो ओभर र पहिलो बलमै विकेट। टस जितेर जनकपुरका कप्तान हरमित सिंहले कर्णाली याक्सका विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका थिए। हरमितले पावरप्लेमै राहुललाई बलिङ गर्ने जिम्मा दिए। राहुलले कप्तानको विश्वासको रक्षा गरे। जनकपुरविरुद्ध उत्कृष्ट लयमा रहेका ब्याट्सम्यान दीपक डुम्रेलाई पभेलियनको बाटो देखाए।
कर्णालीले आक्रमण सुरु गर्न थालेपछि तेस्रो ओभरमा राहुल बलिङमा आएका थिए। अघिल्लो ओभरमा दुई छक्का प्रहार गरेर आक्रामक सुरुवात गरिरहेका डुम्रेलाई राहुलले मैदानबाहिरको बाटो देखाएपछि प्यारापिट एकाएक जनकपुरको झण्डाले रंगिन हुन पुगेको थियो। समर्थक उत्साहित देखिन्थे।