राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले करीब तीन महिनाको अन्योलतापछि एक कुशल एवम् क्षमतावान् नेतृत्व पाएको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव सुशील घिमिरेलाई निगमका कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको थियो ।
तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघमा राजीनामा दिएपछि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । घिमिरेलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको पर्यटन मन्त्रालयले पुष्टि गरेको छ । घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बन्नुभएको थियो ।
पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो ।
घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो । निजामती सेवामा रहँदा घिमिरेले एक कुशल राष्ट्रसेवकको छवि बनाएर तत्कालीन पर्यटन मन्त्रीहरुबाट प्रशंसा पाउनुभएको थियो । घिमिरेले जहाँ जुन मन्त्रालय तथा संस्थाको नेतृत्व लिनुभयो त्यहाँ आफूलाई अब्बल साबित तुल्याउनुभयो ।
घिमिरेको विगतको कर्मशील छविलाई नै लिएर अहिले सरोकारवालाले उहाँको निगम यात्राको पुनर्आगमनको सिलसिलामा सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । घिमिरेको नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुक तथा सञ्चारमाध्यममा निगम सुधारको अपेक्षासहित शुभकामना दिएका छन् । पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडे काजी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि निगम नेतृत्वप्रति आशातीत प्रतिक्रिया जनाएका छन् ।
निगमको पुनर्संरचना, व्यवस्थापकीय पुनर्संंरचना, संस्थागत पुनर्संरचना, गन्तव्य विश्लेषण, बजार व्यवस्थापन, मानव स्रोत व्यवस्थापन लगायतको विषयमा घिमिरेको कार्यदलले दिएको सुझावबाट पर्यटमन्त्री भट्टराई प्रभावित हुनुहुन्छ । निगमको सुधारका लागि निगमका बारेमा जानकारलाई नेतृत्व दिँदा सुधार ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।
नवनियुक्त घिमिरेले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सुधारका विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो । गौरवमय इतिहास रहेको नेपाल वायु सेवा निगम अनेकौँ उतारचढावबीच अहिलेको अवस्थामा आइपुगेको बताउँदै घिमिरेले अब यसलाई प्रतिस्पर्धी बजारमा अब्बल बनाएर लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गौरवमय इतिहास बोकेको नेपाल वायु सेवा निगमको वर्तमान चुनौतीपूर्ण अवस्थालाई सुधार गरी अब्बल बनाएर लैजानुको विकल्प छैन । कडा मेहनतका साथ यसको उज्यालो भविष्यका लागि लाग्नेछु ।”
सरकार तथा निजी क्षेत्रका सरोकारवाला निकायको सहकार्य र विश्वासलाई जितेर निगमको नेतृत्वलाई गन्तव्यमा पु¥याउन सके मात्रै घिमिरेको निगम यात्राले सार्थकता पाउनेछ । घिमिरेले कोभिड–१९ को सङ्क्रमणपछि निगमको अर्थोपार्जनमा झनै चुनौती थपिदिएको भन्दै यो अवस्थाबाट निगमलाई सुधार्ने आगामी रणनीतिका साथ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । उहाँले निगम सुधार कार्यदलले दिएको सुझावअनुरुप पछिल्ला दिनमा निगमभित्र केही सुधारात्मक काम पनि भइरहेको बताउँदै त्यसलाई थप प्रभावकारी बनाएर लैजाने विश्वास दिलाउनुभयो ।