राधा पाण्डे कपिलवस्तु,/बैशाख ६
विहिबारदेखि सीमा क्षेत्रमा मानिस लगायत तरकारी भित्रिन नदिने नगरपालिकाले निर्णय गरे पनि रातीको समयमा तरकारी लगायतका सामग्री भित्रिएको भेटिएको छ । बाणगंगा नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघले संयुक्तरुपमा शुक्रबारदेखि बजार अनुगमनमा तिव्रता दिएसँगै शनिवार पनि नगरभित्रका भित्री पसलहरुमा अनुगमन गर्दा सीमा नाकाबाट भारतीय तरकारी, फलफूल सहितका सवारी साधनहरु चारनम्बर भित्रिएको स्थानीयले बताएका छन् । नगरपालिका भित्रका केही फलफूल तथा तरकारी पसलहरुले फोन गरेर मगाउने गरेको पाइएको हो । नगरपालिकाले यस्तो सूचना पाए लगत्तै सोही स्थानमा अनुगमन गर्दा नेपाली नम्बर प्लेटका मोटरसाईकलमा भारतीय तरकारीहरु भित्रिएको पाएपछि ती व्यक्तिहरुलाई आगामी दिनमा पालिकाको नियम उल्लङघन गरेमा गाडी सहित पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्ने जनाएको छ ।
शनिवार भक्तौली, राजापानी, बरवा, प्रगतिनगर, मेचकुरी, ओदारी, चारनम्बर, बोडगाउँ, बनगाइ, मोतीपुर, जिनुवा भर्लावास लगायतका स्थानमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही पसलहरुमा कालोबजारी गरेको स्थानीयको गुनासो रहेकोले एक पटकलाई सुधार गर्ने मौका दिइएको र पटकपटक गरिएको थाहा पाएमा पसल नै शिलबन्दी गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।
अत्यावश्यक वस्तु तथा दैनिक उपभोग्य खाद्य वस्तु विक्रि वितरणका लागि विहान १० बजेसम्म पसलहरु संचालन गर्न नगरपालिकाले व्यापरिहरुलाई जानकारि गराएको थियो । सोहि जानकारी पछि गरिएको अनुगमनका क्रममा धेरै व्यापारिहरुले नगरपालिकोे निर्णय कार्यान्वयन गरेको पाइएको छ । कालोबजारी हुन थाल्यो भन्ने जन गुनासो आउन थाले पछि बिहान ७ बजे देखि १० बजेसम्मको समयमा खोलिएका पसलहरुको अनुगमन गरिएको हो । त्यस्तै बिहान १० बजे पछाडिको समयमा पसल बन्द गर्ने भन्ने नगरपालिकाको निर्णय कत्तिको कार्यान्वयन भएको छ भनेर अनुगमन भएको बताइएको छ ।
यस्तै नगर र उद्योग बाणिज्य संघले दैनिक खाद्य तथा उपभोग्य वस्तु अभाव हुन नदिन पसलेहरुलाई आग्रह गरिएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले बताए । उपभोक्ताले निर्धारीत समयमा आफुलाई चाहिएको सामान खरिद गर्न सक्ने समेत स्पष्ट पारेका छन् ।
अनुगमनमा नगर उपप्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष भेषराज पाण्डे, समाजसेवी डोलकराम घिमिरे, बाणगंगा यातायात ब्यावसायी समितिका अध्यक्ष तथा विष्णु न्यौपाने, हर्ट्विट एफएमका कार्यबाहक ब्यवस्थापक हरि घिमिरे, सहितको टोली अनुगमनमा सहभागी रहेको थियो ।