न्दाबन्दी शुरु भएपछि बजार भाउ उच्चदरमा बढेको छ । खाद्यान्न मौज्दात पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दाबी गरे पनि बजारमा मूल्य वृद्धि अकासिएको छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका समयमा टीकापुरलगायत आसपासका बजार क्षेत्रमा अनुगमन हुन नसक्दा दैनिक उपभोग्य सामानको मूल्य आकासिएको हो ।
बजार अनुगमन हुन नसक्दा उपभोक्तालाई व्यापारीले भनेबमोजिम सामानको मूल्य तिर्नुपर्ने बाध्यता छ । “सबै कुरा किनेर खानुपर्छ, सामानको मूल्य छोइनसक्नु छ”, उपभोक्ता निरा काफ्लेले भन्नुभयो, “व्यापारीले पनि मौका पाएका छन् । अनुगमन छैन । सीमित पसल खुल्छन् जति भने पनि तिर्नुको विकल्प छैन ।”
दैनिक किनेरै गुजारा गर्दै आएका स्थानीय चन्द्रकान्त अधिकारीले पैसा आउने माध्यम बन्द भए पनि खाने मुख बन्द नभएको बताउँदै व्यापारीले मौकामा चौका हानेको बताउनुभयो । उहाँले व्यापारीले मनोमानी ढङ्गले दैनिक उपभोग्य सामानको मूल्य बढाउँदा आफूहरुजस्ता परिवार भोकभोकै बस्नुपर्ने समय आइसकेको बताउनुभयो ।
टीकापुर नगरपालिकाले नगर उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरेको भए पनि बन्दाबन्दीको समयमा एकपटक पनि अनुगमन हुन सकेको छैन । नगरपालिकाकी नगर उपप्रमुख केशरी विष्टले व्यापार व्यवसाय नै बन्द भएको समयमा अनुगमनको कुनै अर्थ नहुने बताउनुभयो । “सबै बजार बन्द छ । कता केको अनुगमन गर्ने ?” नगर उपप्रमुख विष्टले भन्नुभयो, “अब सीमित समयका लागि बजार खोल्ने निर्णय भएको छ, त्यसैअनुसार बजार अनुगमनको काम अगाडि बढाउँछौँ ।” उहाँले उपभोक्तालाई कालोबजारी भइरहेको तथ्य प्रमाण ल्याएर आउन आग्रह गर्दै दोषि देखिए जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउने बताउनुभएयो ।
दैनिक उपभोग्य सामानमध्ये चामल, दाल, तेल, खुर्सानी, तरकारी, माछा, मासुको मूल्य दोब्बरले नै वृद्धि भएको छ । व्यापारीले आफूहरुले सामान खरिद गर्दा पनि महँगोमा खरिद गरेको बताउँदै त्यसमा थोरै फाइदा खाएर बेच्नु पर्ने बाध्यता रहेको बताएका छन् । औषधि व्यवसायी सङ्घका अध्यक्ष शङ्करप्रसाद शर्माले होलसेलर व्यापारीले नै सामानको मूल्य बढाएको बताउँदै रहरले नभई महँगोमा बेच्नु आफूहरुको बाध्यता रहेको बताउनुभयो । “सामान नभए ग्राहक भड्किने डर ल्याएर बेचौँ भने महँगोमा बेच्नुपर्ने बाध्यता” अध्यक्ष शर्माले भन्नुभयो, “केही सामान भने बिचौलियाले कृत्रिम अभाव देखाएर बेच्नेसमेत गरेको सुन्नमा आएको छ । त्यसतर्फ अनुगमनको जिम्मा पाएका निकायको ध्यान जान जरुरी छ ।”
टीकापुर उद्योग वाणिज्य सङ्घले पनि बन्दाबन्दीको समयमा मूल्य वृद्धि र कालोबजारी रोक्नका लागि समिति नै गठन गरेको थियो । तर, उक्त समितिले कुनै काम नै नगरी निष्क्रिय भएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बजार अनुगमनको जिम्मेवारी नगरपालिकामा गठन भएको अनुगमन समितिको भएको बताउँदै आफूलाई पनि मूल्यवृद्धि र कालोबजारीका बारेमा खबर आउने गरेको बताउनुभयो । उहाँले जिम्मेवार निकायसँग छलफल भइरहेको बताउँदै त्यस्तो भेटिएमा जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पाँच रुपैयाँमा पाइने सुर्तीको ५० रुपैयाँ !
विगतमा बजारमा प्रतिप्याकेट रु पाँचमा पाइने श्यामल सुर्तीको अहिले व्यापारीले रु ५० सम्म लिने गरेका छन् । नेपाल सरकारले नै सुर्तीजन्य पदार्थको आयात निर्यातमा रोक लगाएको अवस्थामा भारतीय सुर्ती नेपालमा कसरी आयात भइरहेको छ भन्ने प्रश्नसमेत उठ्न थालेको छ । भारतमा बनेको सो सुर्ती कोरोना महामारीले नेपाल–भारत सीमा बन्द भएपछि नेपालमा अहिले कालोबजारीको एउटा नमूना बनेको छ ।
सरकारले लकडाउनका बेला सुर्तीजन्य पदार्थको बिक्री वितरण बन्द गरेपछि सुर्तीका पारखी अहिले रु ५० प्रतिप्याकेटमा किनेर सेवन गरिरहेका छन् । कैलालीका ग्रामीण क्षेत्रमा अति महँगोमा बिक्री भइरहेको श्यामल सुर्ती अहिले पनि भारतको सीमा क्षेत्रबाट नै अवैधरुपमा भित्रिने गरेको बताइन्छ ।