काठमाडौं । आनी छोइङ डोल्माको पृथक परिचय छ । उनको जीवन निकै संघर्षपूर्ण रुपमा हुर्किएको र प्रेरणादायी पनि छ । बौद्ध मन्त्र र आध्यात्मिक संगीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेर उनले अन्तर्राष्ट्रिय ख्याती समेत कमाइन् ।
दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू वज्राचार्यको संगीत रहेको ‘फूलको आँखामा फूलै संसार’ गीतमार्फत उनी सबै उमेर वर्गका नेपालीहरुमाझ परिचित भइन । ‘फुलको आँखामा’ पुस्तकमा समेटिएको बाल्यकाल, पारिवारिक सम्बन्ध, गुम्बा जीवन, संगीत र सामाजिक सेवाको सन्दर्भ र सोही विषय समेटिएको ‘सिङ्गिङ फर फ्रिडम’ पुस्तकमार्फत उनी अन्तर्राष्ट्रिय जगतमा परिचित भइन् ।
शिक्षा, स्वास्थ्य र मानवीय सेवा साथै सन् २००० मा स्थापना गरिएको आर्य तारा स्कुलमार्फत उनले अनेकौं सेवाहरु गरिरहेकी छन् । युनिसेफ र विश्व वन्यजन्तु कोषजस्ता संस्थासँग जोडिएकी उनको सामाजिक सेवामार्फत पुर्याएको योगदानको श्रृखंला लामो छ ।
लोभलाग्दो प्रोफाइल र मधुर स्वरका कारण सबैको प्रिय बनेकी उनी यतिबेला विवादमा तानिएकी छन् । उनको सम्पत्ती र नागरिकताको विषय बढी चर्चामा छ । दुवै विषयमा कुनै निकाय वा व्यक्तिहरुले गहन अध्ययन गरेर वास्तविक सार्वजनिक नगरेपनि सोही विषयमाथि पक्ष–विपक्षमा वहस भइरहेको छ । सबैभन्दा बढी सामाजिक संजाल तातेको छ ।
सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा ३० असोज २०८३ को मन्त्रिपरिषद् बैठकले उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि उनीसँग जोडिएको सम्पत्ति शुद्धिकरण र नागरिकताको विषय एकाएक चर्चामा आएको छ । उक्त विषयले उनी विवादमा तानिएकी हुन् ।
विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको संरक्षण र विकास गर्ने संस्थामा उनको नियुक्तिको विरुद्धमा ठूलो समूह सक्रिय नरहेपनि केही व्यक्तिहरु खुलेर विरोधमा उत्रिएका छन् ।
लुम्बिनी बचाउ महाअभियानले श्रृखंलावद्ध विरोधका कार्यक्रमहरु आयोजना गरिरहेको छ । आनीको नियुक्ति बदर गर्न माग गर्दै शुक्रबार पनि लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको छ । तर सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपी, केही प्रतिष्ठित व्यक्ति तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले पक्ष–विपक्षमा आफ्नो धारणा राखिरहेका छन् ।