पूर्णप्रसाद मिश्र
राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि यहाँका नदी एवं चक्रपथ सफाइ अभियान भने पुरानैस्वरुपमा फर्कन थालेको छ ।
पाँच महिनासम्म पनि कोरोना नघटेपछि भौतिक दूरीसहित स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ अभियानलाई पुरानैस्वरुपमा फर्काउन थालिएको हो । गत चैत ११ गतेपछि माइकबाट नारा लगाउन बन्द गरिएकामा आजदेखि शुरु गरिएको छ । नारामा अभियानकर्मीले ‘म मेरो बासस्थान र वरपरको वातावरण सफा राख्न लागीपर्छु’ भनी शपथ खान्छन् ।
शङ्खमूल क्षेत्रको बुद्धनगरमा पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौडेलको नेतृत्वमा सफाइ गरिएको हो । वाग्मती सफाइ महाअभियानको ३७८औँ हप्ताका अवसरमा विसं २०७० जेठ ५ गते सफाइ महाअभियान शुरु गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वमुख्यसचिव पौडेलले अभियानकर्मीलाई शपथ गराउनुभएको हो ।
जीवन विज्ञान र स्थानीय क्लबले उद्यान बनाउन लागेको वाग्मती किनारस्थित बुद्धनगरमा सफाइ गरी कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले राससलाई जानकारी दिनुभयो । सफाइमा अभियानकर्मी नारायणकुमार श्रेष्ठ, प्रिया लामिछाने, रामशरण कार्की, हनुमानमार्ग टोल सुधार समिति, जीवन विज्ञानलगायत स्थानीयवासी सहभागी हुनुभएको थियो । त्यस्तै पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । पशुपति क्षेत्रमा वाग्मतीको बहाव बढेकाले धेरै फोहर नभेटिएको उहाँले सुनाउनुभयो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ महाअभियानको ३३८ औँ हप्तामा गोठाटार पुलमुनिको नदी किनार दायाँबायाँ सफाइ गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा हुने यस क्षेत्रको नदी सफाइ घरदेखि वाग्मती सफा गरौँ भन्ने नाराका साथ हुने गरेको छ । पुलमुनिको नदी क्षेत्रमा आज सफाइ गरी कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको छ । कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गर्ने गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । त्यस क्षेत्रको नदी किनारमा रोपिएका बिरुवा गोडमेल पनि गरिएको थियो ।
रुद्रमती सफाइ अभियानको ३३३ औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको पूर्वी भागमा सफाइ गरिएको छ । भौतिक दूरी कायम गरी नदी किनारका बिरुवा गोडमेल समेत गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो । यसैगरी विष्णुमती सफाइ अभियानको ३०६ औँ हप्तामा नयाँबसपार्कबाट मनोहरतीर्थसम्म सफाइ गरिएको छ । यसअघिका दुई हप्तामा विष्णुमती किनारमा गरिएको वृक्षरोपणलाई निरन्तरता दिइएको छ । यसअघिका दुई हप्तामा १२३ बिरुवा रोपिएकामा आज २७ वटा रोपिएको छ । रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने, मलजल गरी हुर्काउने जिम्मेवारीमा समेत अभियान लागिपरेको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।
बिरुवा संरक्षणका लागि कान्तिपुरी बहुउद्देश्यी सहकारी संस्थाले २५, स्थानीय पसलधनी एवं उदारमना दाताले २० गरी ४५ वटा तारबार प्राप्त भएको जनाइएको छ । बाँकी १५० वटा तारबारका लागि सहयोगी मनलाई आह्वान गरिएको अभियानले जनाएको छ । वाग्मती तिलगङ्गा खण्ड २६० औँ हप्ताको सफाइ गरिएको छ । कोरोनाको सन्त्रास रहेकाले भौतिक दूरी कायम गर्दै नदी किनारमा जम्मा भएको फोहर टिपी जनचेतनामूलक अभियानसहित सम्पन्न गरिएको अभियानकर्मी आशा पाण्डेले राससलाई जानकारी दिनुभयो ।
आलोकनगर सफाइको १७७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी खुला स्थानमा रोपिएका बिरुवा संरक्षण एवं गोडमेल गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । त्यस्तै गोदावरी खोला सफाइ अभियानको ७५औँ हप्तामा गोदावरी नगरपालिका वडा नं. १ गोदामचौरस्थित धर्मटार क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको सफाइ संयोजक बेबी राजभण्डारीले बताउनुभयो । महिला तथा बालबालिकाको सक्रियतामा यस क्षेत्रको सफाइ हुँदै आएको छ ।
एकल घुम्ती सरसफाइ अभियानको १८औँ हप्तामा दुर्गा भुसालले संयुक्त राष्ट्रसङ्घीय उद्यान (युएन पार्क) क्षेत्रमा सफाइ गर्नुभएको छ । उद्यानमा सफाइ एवं व्यवस्थापन गर्न १५ जना कर्मचारीको व्यवस्था गरिए पनि अवस्था दयनीय रहेको उहाँले सुनाउनुभयो ।
–––