दोहा, कतार।
भट्टराई कुलवंश प्रतिष्ठान प्रवास सम्पर्क समिति कतारको प्रथम अधिवेशनबाट जीवन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। कतारको ग्राण्ड मलस्थित सिलौटो रेस्टुरेन्टमा आयोजित अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्वको चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा दीप भट्टराई, महिला उपाध्यक्षमा हिमा भट्टराई, सचिवमा विकास भट्टराई, सहसचिवमा सूर्य भट्टराई, महिला सहसचिवमा बबिता भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम भट्टराई, सह-कोषाध्यक्षमा कमला भट्टराई र प्रवक्तामा बलिन्द्र भट्टराई चयन भएका छन्।
यस्तै सदस्यहरूमा मोहन भट्टराई, युगान्त भट्टराई, राज भट्टराई, सुनिता भट्टराई, शुष्मा भट्टराई, प्रविणा भट्टराई, सुरेश भट्टराई, माया भट्टराई, शान्तिलाल भट्टराई, बुनूँ भट्टराई, रामु भट्टराई, शोभा भट्टराई, सुनिता भट्टराई र पवित्रा भट्टराई रहेका छन्। लेखा समितिको संयोजकमा अनमोल भट्टराई तथा सदस्यहरूमा नम्रता भट्टराई र केशव भट्टराई चयन भएका छन्। अधिवेशनमा निर्वाचन समितिका संयोजक प्रेमप्रसाद भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
संस्थाका अध्यक्ष नवीन केसी भट्टराईको अध्यक्षतामा सम्पन्न खुला सत्रमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका कार्यवाहक अध्यक्ष रविन मगर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा कतारमा क्रियाशील विभिन्न वैचारिक तथा सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि रविन मगरले कुलवंश, संस्कार र संस्कृतिको संरक्षण गर्दै नेपाली समुदायलाई एकताबद्ध बनाउन प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। दिल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त औपचारिक कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नम्रता भट्टराईले गर्नुभएको थियो।