बागमती प्रदेश,काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता पुन: थप गरिनुका साथै निषेधाज्ञाको अवधि भरी निजी सवारी साधन जोर विजोर प्रणालीमा अनुसार चलाउन पाईने भएको छ। उपत्यका भित्रका तिनै जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकको निर्णयानुसार असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने भएको छ।त्यसैगरी यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटको गाडी विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन।
कुन बारको कुन समयमा कुन कुन पशल खुल्ने? आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ। त्यसैगरी ‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’ दैनिक उपभोग्य सामाग्रीहरु खाद्यान्न, दूध, किताब पसल लगायतका पसलहरू बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने समेत पराजुलीले जानकारी दिएका छन।
साताको शनिबार भने अत्यावश्यक बाहेक अरू पसलहरू बन्द रहनेछन। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअले जानकारी दिएका छन। सवारी साधनहरुमा असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछन भने अन्य सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।