धादिङ । धादिङका आठवटा स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण सडकखण्डअन्तर्गत फुर्केखोलामा अस्थायी पन्टुन ब्रिज (तैरिने पुल) जडान गरिने भएको छ। बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क पुनःस्थापना गर्न स्थानीय तहहरूको संयुक्त पहलमा पुल जडानको तयारी अन्तिम चरणमा पुगेको हो।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङका विभिन्न क्षेत्रको पृथ्वी राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको थियो। बाढीले त्रिशूली नदी वारपार गर्ने अन्य पक्की पुलसमेत बगाएपछि जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको छ। सडक सम्पर्क अवरुद्ध हुँदा सर्वसाधारणसँगै एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनले समेत लामो, जोखिमपूर्ण र वैकल्पिक सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ।
यही समस्यालाई मध्यनजर गर्दै धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहल र समन्वयमा फुर्केखोलामा अस्थायी पन्टुन ब्रिज जडान गर्न लागिएको हो। ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले मलेखुमा पुल ल्याएर जडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
अध्यक्ष दनैका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यसै सिलसिलामा आज सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित फुर्केखोलाको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा पुल जडानको सम्भावना, आवश्यक संरचना तथा प्राविधिक पक्षबारे अध्ययन गरिएको हो।
सबै प्रक्रिया अनुकूल रहेमा केही दिनभित्रै पुल जडानको काम सम्पन्न गरी स्थायी पुल निर्माण नहुँदासम्म यातायात सञ्चालनलाई सहज बनाउने लक्ष्य राखिएको अध्यक्ष दनैले बताएका छन्। तिहारअघि नै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ।
के हो पन्टुन ब्रिज ?
पन्टुन ब्रिज पानीमा तैरिने संरचनाको सहायताले निर्माण गरिने अस्थायी पुल हो। यसलाई नेपालीमा तैरिने पुल पनि भनिन्छ। सामान्य पक्की पुलमा जस्तो नदीको पिँधसम्म पिलर निर्माण गर्नुपर्ने आवश्यकता यसमा हुँदैन। पानीमा तैरिने विशेष संरचनालाई आपसमा जोडेर पुल तयार गरिन्छ।
प्राविधिकहरूका अनुसार पन्टुन ब्रिज तुलनात्मक रूपमा कम खर्चमा र छोटो समयमै जडान गर्न सकिन्छ। आवश्यकताअनुसार यसलाई खोल्न र अर्को स्थानमा स्थानान्तरण गर्नसमेत सहज हुन्छ। तर नदीमा पानीको बहाव अत्यधिक बढ्दा वा बाढी आउँदा यस्तो पुल जोखिमपूर्ण हुन सक्ने भएकाले यसको प्रयोग र सञ्चालनमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
यसैबीच, फुर्केखोलामा स्थायी पुल निर्माणका लागि संघीय सरकारले पनि प्रक्रिया अघि बढाउने तयारी गरेको छ। धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत मलेखुको फुर्केखोलामा स्थायी समाधानका रूपमा सिग्नेचर ब्रिज निर्माण गर्ने र त्यसका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
उनले त्रिशूली नदी वारपार गर्ने घाटबेसीको पक्की पुलसहित अन्य पाँचवटा सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरी निर्माण प्रक्रिया अघि बढाइनेसमेत बताएका छन्।
अस्थायी पन्टुन ब्रिज जडान र स्थायी पुल निर्माणको प्रक्रिया अघि बढेसँगै लामो समयदेखि सडक सम्पर्क विच्छेदको समस्या भोगिरहेका धादिङवासीले राहत पाउने अपेक्षा गरिएको छ।