वाग्मती प्रदेश सभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथिको छलफल शुरु भएको छ ।
छलफलमा सत्तापक्षका सदस्यले सरकारद्वारा आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याइएको बजेट अत्यन्तै सकरात्मक भए पनि मन्त्रीहरुले आफ्नो जिल्लामा प्रभाव पार्ने खालको योजनालाई विभिन्न शीर्षकमा राखिएको र सत्तापक्षकै सांसदको सुझावलाई उपेक्षा गरी योजना बाँडफाँटमा विभेद गरिएकोमा चिन्ता व्यक्त गर्नुयो ।
उहाँहरुले कोभिड–१९ रोग नियन्त्रणका लागि सुविधायुक्त आइसोलेसन कक्ष, क्वारेन्टाइन र भेन्टिलेटरसहितको अस्पताललाई १३ वटै जिल्लामा स्थापना गर्ने र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउनेतर्फ बजेटले उच्च प्राथमिकता दिनुपर्ने बताउँदै वैदेशिक रोजगारबाट फर्किएका युवालाई प्रत्यक्ष रुपमा आत्मनिर्भर हुने योजनालाई समावेश गरिनुपर्ने, कृषि उत्पादनलाई वृद्धि गर्न आधुनिक प्रविधिका साथै बाँझो जग्गालाई सामूहिक खेती गर्नेतर्फ गुरुयोजना तर्जुमा गरी बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।
त्यस्तै सरकारले ल्याउने गरेको नीति, कार्यक्रम र बजेटलाई अब नयाँ सोच र चिन्तनबाट योजनाको प्रोफाइल तयार गर्नुपर्ने उल्लेख गर्दै उहाँहरुले राष्ट्रिय गौरवको आयोजना, पर्यटन क्षेत्रको विस्तार र उच्च शिक्षाको गुणस्तरलाई अघि बढाउनेतर्फ बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्ने आग्रह गर्नुभयो । उहाँहरुले सरकारले ल्याएको बजेटको विभिन्न विशेषतामध्ये कृषि उत्पादन, पशुपालन, रोजगारको लागि दिइने अवसर सकरात्मक रहेको उल्लेख गर्दै कोभिड सङ्क्रमणबाट बाबु–आमा गुमाएका बालबालिकालाई मासिक रु तीन हजारभन्दा बढी भत्ता दिनुपर्ने तथा गरिब र विपन्न किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सरकारले उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।
यसैगरी बैठकमा प्रतिपक्ष दलका सदस्यले प्रस्तुत बजेट जनमुखी, व्यावहारिक र पारदर्शी हुन नसकेको, स्थानीय तहबाट माग भई आएको विभिन्न विकासको पूर्वाधारको योजनालाई सम्मानपूर्वक वितरण नगरी केवल मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा मात्रै एकै प्रकारको विभिन्न शीर्षकमा बजेट छुट्याइएकोमा गुनासो व्यक्त गर्दै प्रदेशको १३ वटै जिल्लामा सुविधायुक्त अस्पतालको स्थापना एवं प्रयोगशालाका साथै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउनेतर्फ बजेट मौन रहेको बताउनुभयो ।
उहाँहरुले समानुपातिकतर्फका सदस्यलाई विभिन्न अवसर तथा योजना बाँडफाँटमा उपेक्षा गर्न नहुने भन्दै वैदेशिक रोजगारबाट फर्किएका युवालाई आ–आफ्नो क्षमता र सीप अनुसार रोजगारीमा संलग्न गराई उनीहरुलाई आर्थिक समृद्धितर्फ जोड्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । जनताको विश्वास, आस्था र आवश्यकतालाई परिपूर्ति गर्ने बजेट अहिलेको आवश्यकता हो, त्यसैले बजेटलाई जनताप्रति जिम्मेवार हुनेखालको योजना ल्याउने विषयमा पुनः समिक्षा गरेर फेरबदल गर्नुपर्नेमा उहाँहरुको जोड दिनुभयो ।
उहाँहरुले प्रदेशका विभिन्न जिल्लामा वर्षात्का कारण आएको बाढीपहिरो, घर डुवान, धनजनको क्षति भएका पीडित परिवारलाई उद्दार गरी तत्काल बसोबासको व्यवस्था मिलाउनुपर्ने र विपद् व्यवस्थापन केन्द्रलाई सक्रिय बनाउनुपर्ने बताउँदै पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्तगत प्रत्येक सदस्यलाई दिँदै आएको रु एक करोड रकम यस पटकको बजेटबाट खारेज हुनुपर्ने माग गर्नुभयो । सङ्घीय सरकारजस्तै प्रदेश सरकारले पनि आफ्नो स्वामित्वमा रहनेगरी आमसञ्चार गृह सञ्चालन गर्न खोजेको आपति जनाउनुभयो ।
छलफलमा भाग लिने सदस्यमा राजेन्द्रप्रसाद पाण्डे, लालकुमार पुन, न्हुच्छेनारायण श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, प्रेमबहादुर पुलामी, देबकी श्रेष्ठ, गीता वाग्ले, भावना सुवेदी, चेतनाथ सञ्जेल, भीमसेन खत्री, रीना गुरुङ, केशवप्रसाद पोखरेल, जगतबहादुर सिमखडा, शोभा शाक्य, पुकार महर्जन, प्रदीपकुमार कटुवाल, सीता अधिकारी, ओमबहादुर घलान, शान्तिप्रसाद पौडेल, सन्तबहादुर प्रजा, रमेश पौड्याल, हिरानाथ खतिवडा, लोकनाथ दाहाल, रमा आलेमगर, रत्नप्रसाद ढकाल, मिना ज्ञवाली, रीता माझी र राधा घले रहेका छन् ।
यसअघि आजको बैठकको विशेषसमयमा भाग लिदैं सदस्यले बाढीपहिरोबाट भएको धनजनको क्षति, उद्दार, राहत र पीडित परिवारका लागि गाँस, बास, कपास र घाइतेको स्वास्थ्य उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सरकारले अहिले सुरुङमार्ग, भौतिक पूर्वाधार निर्माणका लागि भन्दापनि अहिले बाढीपहिरोबाट पीडित जनतालाई बसोबास गर्न र नदी नियन्त्रणका लागि आवश्यकता अनुसार तारजाली र डोजर उपलब्ध गराउनुपर्ने, बाढीपहिरोबाट प्रभावित राजमार्गको पुल, खानेपानी र विद्युतीकरणको विस्तारमा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँहरुले भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणका लागि बजेट विनियोजन गरेर सरकारले चुनावी प्रचारप्रसार गर्न खाजेको आरोप लगानुभयो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि खोप खरिद, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्न उहाँहरुले सरकारसँग माग गर्नुभयो ।
विशेष समयमा भाग लिनुहुने सदस्यमा राजेन्द्रप्रसाद पाण्डे, निमा लामा, रमेशप्रसाद पौड्याल, युवराज दुलाल, सुरेन्द्रराज गोरसाई, प्रदीपकुमार कटुवाल, सृजना सैजु, घनश्याम दाहाल, प्रभात तामाङ, विशाल खड्का, दीपेन्द्र श्रेष्ठ, रामकाजी महर्जन, रिना गुरुङ, रमा आलेमगर र माधवप्रसाद पौडेल हुनुहुन्छ ।
बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले सिन्धुपाल्चोक जिल्लाको पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन भ्रमण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
यसैगरी आजकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयमाथि छलफलमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विपद् व्यवस्थापन कार्यमा सरकारले सक्रिय भएर लागिपरेको बताउँदै नदी नियन्त्रणका लागि तारजाली तथा कृषि उत्पादन, पशुपालन र रोजगारीका लागि विभिन्न वैकल्पिक उपायहरु अवलम्वन गरी आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।प्रदेशसभाको अर्को बैठक असार १९ गते दिनको ११ बजे बस्नेछ ।रासस