काठमाडौं । झन्डै डेढ महिनाअघि भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू अन्ततः एमालेमै रहने भएका छन् ।
५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्धको लडाइँमा नेपाललाई साथ दिँदै आएका नेपालनिकट नेताहरूले आठ महिनापछि उनको साथ छोडेका हुन् ।
योबीचमा एमाले वरिष्ठ नेता नेपालले भने नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । यो खबर आजको राजधानी दैनिकले प्रकाशित गरेको छ ।
निर्वाचन आयोगले नयाँ दल दर्तालाई मान्यता दिने दिन नजिकिँदै जाँदा उनीहरूले नेपालको साथ छोडेका हुन् । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका ती नेताहरू र अध्यक्ष ओलीबीच सोमबार भएको बैठकमा सहमति जुटेपछि उनीहरू एमालेमै रहने निष्कर्षमा पुगेका हुन् ।
तेस्रो धारका रूपमा चिनिएका ‘५७ भाइ’ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमेटम दिएको भए पनि सोमबार नै अध्यक्ष ओलीसँग सहमति जुटेको हो ।
अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको उनीहरूले बताउँदै आएका थिए ।
एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको बताए । २ जेठ २०७५ को अवस्थामा फर्किने विषयमा अध्यक्ष ओली सहमत भएका छन् ।
‘त्यो कसरी हुने भन्नेबारे भोलि (मंगलबार) बस्ने बैठकबाट टुंग्याउने छौं, पार्टीभित्र कसैलाई पनि पक्षपात नहुने र सबैको पुरानो जिम्मेवारी कायम हुनेछ,’ योगेश भट्टराईले भने, ‘हाम्रा पुराना जिम्मेवारीहरू कायम हुनेछन् र पार्टीभित्र कसैमाथि पनि पक्षपात हुँदैन । कसैमाथि पनि अन्यायपूर्ण व्यवहार हुँदैन भन्ने कुराको सुनिश्चितता पार्टी स्थायी कमिटीले गर्छ ।’
१० बुँदे कार्यान्वयनमा सहमति जुटेपछि मंगलबार स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने बताए ।
बैठकमा २ जेठ २०७५ को स्थायी कमिटीमा रहेका नेताहरू मात्रै सो बैठकमा सहभागी हुनेछन् । एमाले स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले मंगलबार बस्ने स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनबारे निर्णय गर्दै अगाडि बढ्ने बताए ।
बैठकमा एमालेले कारबाही गरेका नेता नेपालसहित १४ नेताहरूबारे पनि चर्चा भएको तर त्यसबारे पनि मंगलबार बस्ने बैठकले निर्णय गर्ने उनले बताए ।
बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले पार्टीलाई सुदृढ गर्ने गरी छलफल भएको बताए ।
उनले बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनमा लाने विषयलाई यसअघिकै स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरिसकेको भए पनि त्यसमा थप जोड दिँदै मिलाउनुपर्ने प्रक्रिया मिलाएर पूर्ण रूपमा कार्यान्वयनमा लाने सहमति भएको बताए ।
‘छलफलले १० बुँदे प्रस्तावको कार्यान्वयनको प्रक्रियालाई थप तीव्रता दिने निर्णय गरेको छ र यसबारे थप निर्णय गर्न भोलि (मंगलबार) स्थायी कमिटीको बैठक डाकिएको छ,’ ज्ञवालीले भने, ‘यो छलफलपश्चात् पार्टी एकतामा देखिएका समस्या समाधान हुने, पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास लिएका छौं ।’