काठमाडौं, २२ कात्तिक । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी हाँक्न नसक्ने बताएका छन् ।
अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भने,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’
काँग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको बताए । सिंहले आफूसँग काँग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको बताए ।
क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन आग्रह समेत गरे । ‘बेथितीबाट काँग्रेस र देश चल्दैन,’ सिंहले भने,‘ पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्, भविष्य हेर्नुहोस् । छोरानाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । काँग्रेस बचाउनुहोस् ।’
कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने भन्दै सिंहले कम्युनिष्टविरुद्ध लड्न बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।उनले भने,‘काँग्रेस कमजोर भए कम्युनिस्टहरुले लोकतन्त्र नै फालिदिन्छन् ।’