गृहमन्त्री बालकृष्ण खाँणले आज राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको निरीक्षण भ्रमण गरी विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्य योजनाका बारेमा जानकारी लिनुभएको छ । हिमपात, शीत लहर, अत्यधिक चिसोलगायत विपद्को जोखिम बढेपछि न्यूनीकरणका लागि आवश्यक पर्ने पूर्वतयारीबारे जानकारी लिन गृहमन्त्री खाँणले उक्त केन्द्रको अवलोकन गर्नुभएको हो ।
केन्द्रले प्राकृतिक विपद् न्यूनीकरणका लागि योजना बनाउने र विपद्बाट क्षति हुन नदिन कसरी अगाडि बढ्ने भन्नेबारेमा कार्ययोजना बनाउँछ । निरीक्षणका क्रममा मन्त्री खाँणले केन्द्रले अहिले हिमपात, शीतलहरबाट हुन सक्ने जोखिम एवं सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी एवं प्रतिकार्यका लागि गरेको प्रयासबारे जानकारी लिनुभएको थियो । मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले अहिलेसम्म गरेको पूर्वतयारी र प्रतिकार्यका लागि गरेको प्रयासबारे मन्त्री खाँणलाई जानकारी गराउनुभएको थियो ।
गत मङ्सिर २९ गते गृहमन्त्री स्तरीय निर्णयबाट आपत्कालीन बन्दोबस्तीका सामग्री खरिद गर्न ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मनाङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुलु, डोल्पा, कालीकोट, बझाङ, बाजुरा र दार्चुलालाई चार लाखका दरले पठाउने निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनका लागि जिल्ला जिल्लामा पठाइसकिएको कोइरालाले मन्त्री खाँणलाई जानकारी गराउनुभयो ।
त्यस्तै, उहाँले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुलाई रु १२ लाख तथा नवलपरासी पूर्व, दाङ, बाँके, बर्दिया, कञ्चनपुर र कैलालीलाई आठ लाखका दरले विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी खर्च गर्न जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी मन्त्री खाँणलाई गराउनुभयो ।
मन्त्री खाँणले मुलुकभर भएका विपद्का घटनाबारे तत्काल केन्द्रसम्म कसरी जानकारी आइपुग्छ र केन्द्रबाट तत्कालका लागि राहतका सामग्री कसरी पठाइन्छ भनेर जिज्ञाससमेत राख्नुभएको थियो । मौसमको पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट सिधै आउने र अन्य विपद्का घटना जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्रमा आउने जानकारी गराइएको थियो ।
गृहमन्त्री खाँणले आज बिहान मात्रै लुम्बिनी र मधेस प्रदेशका मुख्यमन्त्री तथा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर शीतलहरको अवस्था र न्यूनीकरणका लागि भएको पूर्वतयारीबारे जानकारी लिनुभएको थियो ।रासस