स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने/नगर्ने विषयमा नेपाली कांग्रेसभित्र २ धार देखिएको छ ।
शुक्रवारबाट शुरू केन्द्रीय कार्यसमिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने नगर्नेबारे नेताहरूको फरक–फरक धारणा आएको छ ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा तालमेलको पक्षमा उभिँदै आइरहेका छन् तर इतर पक्षका नेता डा. शेखर कोइराला तालमेलको पक्षमा खुलेका छैनन् ।
कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापनइतर पक्ष तालमेलको विपक्षमा छ ।
प्रधानमन्त्री समेत रहेका देउवाले भने स्थानीय तहको निर्वाचनमा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउँदै आइरहेका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिबाट जिल्लाको वस्तुगत अवस्था बुझ्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार शुक्रवारको बैठकमा जिल्लामा खटिएका २१ जना केन्द्रीय प्रतिनिधिले जिल्लामा पार्टीको अवस्थाबारे जानकारी गराएका हुन् ।
महतले पार्टी सभापति देउवा गठबन्धन आबद्ध दलहरूबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गरिनुपर्ने पक्षमा रहेको समेत जानकारी दिए ।
‘प्रधानमन्त्री देउवा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने विषयमा सकारात्मक हुनुहुन्छ, कहाँ कस्तो अवस्था छ हेरेर तालमेल गरौं भन्ने उहाँको भनाइ हो,’ कांग्रेस प्रवक्ता महतले भने ।
कांग्रेस बैठकमा स्थानीय तहको निर्वाचनका लागि ७७ जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लाको वस्तुगत अवस्थाका विषयमा नेतृत्वलाई जानकारी समेत गराएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूबाट आवश्यकताअनुसार नेकपा एमालेसँग समेत चुनावी तालमेल गर्नुपर्ने राय आएको छ । कांग्रेस महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित बनेकी मुक्तकुमारी यादवले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग पनि आवश्यक परे तालमेल गर्नुपर्ने राय राखेकी हुन् ।
यादवलाई स्थानीय तहको निर्वाचनका कांग्रेसले सिन्धुली खटाएको थियो । उनले सिन्धुलीमा कांग्रेसले जित्नका लागि एमालेसँग तालमेल गर्नुपर्ने धारणा राखेकी हुन् ।
बैठकमा कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कांग्रेसले एक्लै उम्मेदवार उठाउँदा सहज रूपमा जित्न सकिने नभए सो प्रदेशमा माओवादीसँग भन्दा एमालेसँग तालमेल गर्दा सहज हुने धारणा राखेका छन् ।
चुनावी तालमेलका विषयमा कांग्रेसका प्रदेश सभापतिहरू समेतको फरक–फरक राय आएको छ । बैठकमा सहभागी भएका कांग्रेसका ४ वटा प्रदेशका सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । मधेश प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनबीच चुनावी तालमेलको विपक्षमा देखिएका हुन् ।
बैठकमा सुदूरपश्चिमका प्रदेश अध्यक्ष वीरबहादुर बलायर सहभागी थिएनन् । १ नम्बर प्रदेशका सभापति उद्धव थापा र बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा छन् । राजधानीमा खबर छ ।