२७ असोज, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालित निजी अस्पतालहरु वर्षौदेखि दर्ताविनै सञ्चालनमा रहेको पाइएको छ ।
जनकपुरमा मात्रै करिब ६० वटा निजी अस्पताल छन् । तीमध्ये करिब एक दर्जन अस्पताल दर्तावनै सञ्चालनमा रहेको पाइएको हो ।
जनकपुर उपमहानगर पालिकाले हालै निजी अस्पतालसहित स्वास्थ्य संस्थाहरुको तथ्यांक संकलन गरेके थियो । तीमध्ये ८ वटा निजी अस्पताल दर्ता नै नभई संचालन भएको उल्लेख छ । तर, यसमा पनि कतिपय अस्पतालले झुठो विवरण टिपाएका र कतिपयको विवरण नै समावेश भएको छैन । यसरी हेर्दा करिब दर्जन बढी अस्पताल दर्ताविनै संलनमा रहेको भेटिएको छ ।
दर्ताविनै संचालनमा रहेको एउटा अस्पताल तराई राजधानी हस्पिटल हो । यो जनकपुरको रामानन्दचोकको प्रवेशद्वारको सय मिटर दक्षिण पश्चिम छेउमा चार वर्षदेखि संचालनमा छ ।
उपमहानगरपालिका-८ मा पर्ने यो हस्पिटलमा यसअघि पटकपटक लापरबाही भएको विवरणहरु सार्वजनिक भएका थिए । तर, पनि हस्पिटललाई हालसम्म कुनै निकायबाट कारबाही भएको छैन ।
यस्तै रामानन्द चोकमै दर्ता बिनै चलिरहेको अर्को अस्पताल हो, जनक मेमोरियल हस्पिटल प्रा.लि. । खानेपानी कार्यालयको उत्तरी छेउमा रहेको यो हस्पिटल वर्षौदेखि संचालनमा छ । स्थानीय रामानन्द चोकभन्दा केही भित्र दर्ताविनै अरमान हस्पिटल प्रा.लि र सहयोग हस्पिटल प्रा.लि. पनि संचालनमा छन् ।
त्यस्तै बाह्रविघा मैदानको पश्चिमतर्फ अमृत श्री हस्पिटल प्रा.लि. संचालनमा छ । त्यो पनि संचालनका लागि स्वीकृति नलिएको उपमहानगरपालिकाको अध्ययनले देखाएको छ । अरमान र अमृत श्री अस्पताल स्वीकृतिको लागि केही महिनाअघि निवेदन परेका छन् । तर दर्ता भने नभएको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नवीनकुमार मिश्र बताउँछन् ।
यस्तै तथ्यांकमा दर्ता नरहेको अरु पनि अस्पतालहरु छन् । वडा नं. १३ मा माँ वौधी हस्पिटल प्रा.लि, वडा नं. ६ मा शुभ ओम हस्पिटल प्रा.लि., वडा नं. ८ मा लाइफ केयर अस्पताल दर्ताविना संचालनमा छन् । माँ वौधी हस्पिटल स्वीकृतिको लागि बल्ल निवेदन आएको स्वास्थ्य शाखा प्रमुख मिश्र बताउँछन् ।
यस्तै दर्ताविना संचालनमा रहेको रहेको अर्को अस्पताल हो जनकपुर न्यूरो हस्पिटल प्रा.लि.। दुई वर्षदेखि जनकपुरको मुरलीचोकको पूर्वतर्फ विशिष्टकृत हस्पिटल भनेर यो संचालनमा छ । सञ्चालनकहरु आफ्नो हस्पिटल स्वास्थ्य मन्त्रालयमा दर्ता भएको बताउँछन् ।
तर दर्ताका लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिएपनि मापदण्ड पूरा नभएकोले यो अझै दर्ता भएको छैन । हामीले स्वास्थ्य सेवा विभागको अस्पताल अनुगमन तथा सुदृढीकरण शाखा प्रमुख नरेन्ऽ खनालसित सम्पर्क गर्दा यो अझैसम्म दर्ता नरहेको बताए ।
न्यूरो हस्पिटलमा पटकपटक लापरबाहीका घटना सार्वजनिक भइरहेका छन् । लापरबाहीका घटना बाहिरिएपछि एक महिनाअघि स्वास्थ्य सेवा विभाग र मेडिकल काउन्सिलसहितको टोलीले अनुगमन गरेको थियो । सो अनुगमन प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गर्ने टोलीले बताएको थियो । तर, हालसम्म प्रतिवेदन सार्वजनिक भएको छैन ।
यस्तै दर्ताविनै संचालनमा रहेको अर्को अस्पताल हो सुरक्षा अस्पताल । यो अस्पतालका संचालकले स्वास्थ्य निर्देशनालयमा दर्ता रहेको उल्लेख गर्ने गरेका छन् । तर, उसको दर्ता अभिलेख स्वास्थ्य निर्देशनालयको तथ्यांकमा देखिंदैन । नत स्वास्थ्य महाशाखा र जनकपुर उपमहानगरपालिकामा उसको दर्ता छ । निर्देशनालयका निर्देशक डा. राजिव झाले तथ्यांकमा रहेका अस्पतालहरुको अभिलेलख मात्रै कार्यालयमा रहेको बताए ।
सुरक्षा अस्पतालमा पनि बेलाबेलामा लापरबाहीका घटना भइरहन्छन् । ६ साउन २०८० मा पाठेघरको शल्यक्रिया गर्ने क्रममा जनकपुरधाम १६ कपलेश्वरकी सोनिया साहको मृत्यु भएको थियो । मृत्यु पछि पनि अन्यत्र उपचार गराउन लैजाने भन्दै अस्पताले शव एम्बुलेन्समा राखेपछि घटना बाहिर आएको थियो ।
यस्तै, जनकपुरको क्याम्पस चोकमा संचालित निर्मला देवी मेमोरियल हस्पिटल, उपमहानगरपालिकामा दर्ता रहेको तथ्यांकमा उल्लेख छ । तर उपमहानगरले उपलब्ध गराएको हस्पिटल दर्ता तथा नवीकरण तथ्यांकमा यो देखिंदैन ।
तथ्यांक केलाएपछि अस्पताल संचालकले टिपाएको विवरण अनुसार थप भन्न सकिने स्वास्थ्य शाखा प्रमुख मिश्र बताउँछन् । ‘यो उनीहरुले भने अनुसार हाम्रो कर्मचारीले टिपेको विवरण हो । विवरण केलाएपछि मात्रै सही गलत भन्न सकिन्छ,’ उनले भने ।
संकलित तथ्यांकमा उपमहानगरभित्रै भए पनि केही अस्पतालको नाम उल्लेख छैन । ती अस्पतालहरु पनि दर्ताको लिस्टमा देखिंदैनन् । जसमध्ये जनकपुरको भ्रमरपुरा चोकमा संचालनमा रहेको म्याक्स लाइफ हस्पिटल प्रा.लि.हो । यो अस्पताल दर्ताको लागि निवेदन दिए पनि हालसम्म प्रक्रियामै रहेको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख मिश्र बताउँछन् ।
उपमहानगरको तथ्यांक अनुसार दर्ताविनै संचालनमा रहेको अर्को अस्पताल हो नीलकण्ठ मल्टि स्पेशलिटी हस्पिटल एण्ड रिसर्च सेन्टर । यो पनि दर्ता प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख मिश्रको भनाइ छ ।
उपमहानगर पालिकाको तथ्यांकमा उल्लेख नभएकोमा भ्रमरपुरा चोकस्थित मेड नेपाल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि र गायत्री मेमोरियल हस्पिटल प्रालि छन् ।