वीरगञ्ज (पर्सा), २३ कात्तिक: नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप २०८० को फाइनलमा प्रवेश गरेको छ ।
वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस क्लब उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।
आजको खेलमा प्लेयर अफ दी म्याच पुलिस क्लबका गोलरक्षक सत्रुधन चौधरी घोषित हुनुभयो । उहाँलाई क्वेस्ट फार्मासियुटिकलको तर्फबाट आयोजक आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पङ्कज श्रेष्ठले रु १० हजार पुरस्कार प्रदान गर्नुभयो ।
अब पुलिस क्लबले फाइनलमा आज हुने सङ्कटा क्लब काठमाडौँ र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनलका विजेतासँग सामना गर्ने आयोजक क्लबका अध्यक्ष सुविन बस्नेतले जानकारी दिनुभयो ।
मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको जारी ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतिगोयतामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको छ ।
वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद रु. पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।
त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने उहाँको भनाइ छ ।
प्रतियोगितामा दर्शकका लागि प्रवेश रु एक सय प्रवेश शुल्क पनि राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिनुभयो । सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क रु दुई सय गरिने उहाँले बताउनुभयो । करिब १० हजार दर्शक अटाउने क्षमताको आदर्शनगर रङ्गशालामा सो प्रतियोगिताका लागि तीन हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ ।