कञ्चनपुर, १६ फागुन : शुक्लाफाँटा नगरपालिकामा आजदेखि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
नगरपालिकाका १२ वटै वडाका बासिन्दालाई आँखाको उपचार सेवा घरदैलोमै पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य सेवा शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । पहिलो दिन वडा नं २ मा शिविर सञ्चालन गरिएको हो । यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट एक सय ८७ जनाले सेवा लिएको आधारभूत स्वास्थ्य केन्द्र रानीपुरका प्रमुख मदन साउदले बताउनुभयो । मोतिया विन्दु भएका आठ जनाको निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ ।
यस्तै आँखाको दृष्टि कमजोर भएका ३९ जनालाई निःशुल्करुपमा चस्मा वितरण गरिएको छ । बाँकी एक सय ४० जनालाई निःशुल्क रुपमा परामर्श तथा आँखा जाँचसँगै औषधि वितरण गरिएको छ । यसैगरी, अन्य वडामा पनि निरन्तररुपमा यही फागुन २७ गतेसम्म आँखा शिविर सञ्चालन गरिने नगरपालिकाका उपप्रमुख कल्पना पन्तले बताउनुभयो ।
यही फागुन १७ गते आधारभूत स्वास्थ्य केन्द्र पिपलाडी, १८ गते आधारभूत स्वास्थ्य केन्द्र सिसैया, १९ गते शिवशङ्कर माध्यमिक विद्यालय गर्जमुनी, २० गते वडा नं ६ को वडा कार्यालय भवन, २१ गते एक नम्बर वडा कार्यालय, २२ गते पिपलाडी स्वास्थ्यचौकीमा, २३ गते ७ नं वडा कार्यालय, २४ गते ८ नं वडा कार्यालय भवन, २६ गते आधारभूत स्वास्थ्य केन्द्र दीपनगर र फागुन २७ गते आधारभूत स्वास्थ्य केन्द्र कालागौंडीमा शिविर सञ्चालन गरिने छ ।