व्यवसायी दुर्गा प्रसाईंका दुई जना अंगरक्षकलाई पक्राउ परेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मंगलबार सर्वोच्चमा दायर रिटमाथि बुधबार सुनुवाइ हुने सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।
सोमबार व्यवसायी प्रसाईंको रिटमाथि सुनुवाइ भएकाले उनीसहित उनका बडिगार्डहरु दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए। खड्काका नाममा लाइसेन्स जारी भएको अत्याधुनिक मेसिन गन धिमालका साथ बरामद भएको थियो।
सर्वोच्च गेटमा शरीर खानतलासी गर्ने क्रममा धिमालका साथ बन्दुक र झोलामा दुई–दुई वटा सानो र ठूलो म्याग्जिन, एउटा म्याग्जिन होल्ड र सय राउन्ड गोलीसमेत बरामद भएको थियो।
एक त लाइसेन्स नरहेको बन्दुक बोकेको, अझ सर्वोच्चजस्तो संवेदनशील स्थानमा हतियारसहित पसेको र झापाबाट लाइसेन्स जारी भएको हतियार काठमाडौं लिइ आएको भन्दै सर्वोच्चको सुरक्षामा खटिएको प्रहरीले उनीहरु दुवैलाई पक्राउ गरेको थियो।
हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर उनीहरुलाई छाड्नुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता भएको हो।
दीपक खड्काका हकमा उनकी श्रीमती शान्ता खड्काले रिट दर्ता गराएकि हुन् । रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालय, मकवानपुरस्थित मनहरी गाउँपालिका कार्यालय र सर्वोच्च÷विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी एकाइ रामशाहपथलाई विपक्षी बनाइएको छ ।
धिमालको हकमा रिया राजवंशी धिमालले रिट दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ । उनले पनि रिटमा प्रहरीलाई नै विपक्षी बनाएकी छिन् ।