खेमराज सुबेदि - प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटी कतारले सदा झैँ यस वर्षको "ईफ़्तार कार्यक्रम" सम्पन्न गरेको छ।
आज बिहीबार ४ अप्रिल २०२४ का दिन सनैया स्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा २५० भन्दा बढी सङ्गठित सदस्यहरू,आमन्त्रित अतिथिगण तथा व्रतालुहरूको उपस्थिति माझ मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईंको प्रमुख आतिथ्यतामा ईफ़्तार कार्यक्रम सम्पन्न गरेको हो।
मुस्लिम धर्मगुरु मौलाना सुहेब अख्तरद्वारा कुरान तिलावत वाचन गरे सँगै सुरुभएको कार्यक्रममा क्रमश नेपालको राष्ट्रिय गान गाउँदै देशका सहिदहरूलाई मौन धारण मार्फत सम्झंदै ईफ्तर कार्यक्रम अगाडि बढेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण सङ्गठित सदस्यहरू तथा आमन्त्रित पाहुनाहरूलाई कार्यक्रमका संयोजक तथा मन्चका उपाध्यक्ष अफसर अलि खानले स्वागत गरेका थिए।
स्वागत मन्तव्यका क्रममा खानले रमादानको महिना व्रत बसेर शारीरिक तथा मानसिक शुद्धि गर्ने पवित्र महिना भएको बताए। कार्यक्रममा वक्ताको रूपमा आएका मौलाना इसाफले रोजा तथा ईस्लामको महत्वको बारेमा पकाश पारेका थिए।
रिग्वेद तथा कुरानको तुलनात्मक रूपमा अध्ययन गरेका इसाफले "एकोहम ब्रह्म द्वितीय नास्ती किन्चन" को व्याख्या गर्दै कुरानमा भएको उस्तै प्रकृतिको सुराको बारेमा बताए। यसै गरी कासिम राइनले जब जब धर्ममा ग्लानि हुन्छ तब तब नबिहरू यस धर्तीमा आएर धर्मको रक्षा गर्ने गरेको जिकिर प्रस्तुत गरेका थिए।
उनले भविष्य पुराणमा भएको प्रशंग उल्लेख गर्दै मनु र सतरूपा सँग तुलनात्मक रूपमा कुरानका प्रसङ्गहरू जोडेर आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए। यसै गरी स्माइल पन्तले "हामीलाई जुन रूपमा सम्झेर आदर तथा सम्मान गर्नु भएको छ हामी सधैं सम्झिरहने छौं" भन्दै रमादानको शुभकामना व्यक्त गरेका थिए।
![](https://www.muglanikhabar.com/uploads/editor/2024-04-04/181537422IMG-20240404-WA0013.jpg)
एनआरएनए कतारका प्रतितिनिधि, सबै प्रदेशका प्रतिनिधि तथा राष्ट्रिय कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू उपस्थित भएको उक्त कार्यक्रममा महिला समाज कि अध्यक्ष माया केसी ले दोहामा भएका समस्त संघ संस्थाहरूको तर्फबाट प्रतिनिधिमूलक छोटो शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि कमलमणि गुरागाईले नेपालमा जसरी धार्मिक सहिष्णुता अपनाएर बस्ने देशहरू विश्वमा अत्यन्तै कम भएको आफ्नो मन्तव्यका क्रममा बताए। उनले "प्रवासी नेपाली मन्च कतारले धार्मिक सहिष्णुताको अभिवृद्धि गर्न यो कार्यक्रमको सदा वर्ष झैं यस वर्ष पनि आयोजना गरिएको हो " भने।
प्रमुख अतिथि गुरागाईंले आफुले गरेका कर्महरूको पश्चाताप यो महिनामा रोजा मार्फत गर्ने गरिएको बताउँदै "देखाउन को लागि मत्र नभई रोजा मार्फत व्रतालुहरूले रमादानको नियम हृदय देखि नै अवलम्बन गर्ने गर्दछन" भने। आफ्नो मन्तव्यका क्रममा रमादान महिनाको पावन अवसरमा विश्व शान्ति कायम रहोस भन्दै " यस कार्यक्रम मार्फत दोहाको नेपाली समाजमा अझै धेरै भाइचाराको अभिवृद्धि होस्" भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रभात त्रिपाठीले कार्यक्रममा उपस्थित सामाजिक, धार्मिक तथा वैचारिक प्रतिनिधिहरू उपस्थित भएर कार्यक्रमको शोभा बढाइ दिएकोमा धन्यवाद व्यक्त गरेका थिए। उनले " आगामी दिनहरूमा प्रवासी नेपाली मञ्च कतार यो सम्प्रदाय प्रति अत्यन्त नजिक रहेर अगाडी बढ्ने प्रतिवद्धता गर्दछु" भने।
आफ्नो मन्तव्यको अन्त्यमा रमादानको पावन अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै " अल्लाहले तपाईंहरूको एक महिनाको रोजालाई कबुल गरुन, हामी सबै विश्व मानव समुदायलाई अल्लाहले कल्याण गरुन शुभेच्छा व्यक्त गर्दछु" भन्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
प्रथम चरणको कार्यक्रम समापन पश्चात मौलाना गुलाम नवि द्वारा दुवा पढे पश्चात उपस्थित व्रतालुहरूले रोजा खोलेका थिए । ईफ्तर कार्यक्रम २०२४ को सहजीकरण मञ्चका सचिव बिनेश तामाङ्गले गरेका थिए।