भक्तपुर, ३२ जेठ “मेरो एक पिन्ट रगतले तीनजना बिरामीको ज्यान बाँच्नसक्छ, त्यसैले मैले त रक्तदान गरँे, तपाईंले गर्नुभयो ?” विश्व रक्तदाता दिवसका अवसरमा आज ५४औँ पटक रक्तदान गरेपछि इन्द्र श्रेष्ठले भन्नुभयो ।
२०औँ विश्व रक्तदाता दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले सबैलाई रक्तदान गर्न आह्वान समेत गर्नुभयो । साथै रक्तदान कुन उमेर र कति समयमा गर्नेलगायतका विषयमा चर्चा पनि गर्नुभयो ।
भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीले बिहान जनचेतनामूलक कार्यक्रम गर्नाका साथै रक्तदानमा टेवा पुर्याउने विभिन्न सङ्घसंस्था तथा रक्तदाता एक सयभन्दा बढीलाई सम्मान गरेको छ ।
१८ वर्ष पूरा भएपछि रक्तदान
अठार वर्षको किशोरावस्थामा प्रवेश गरेसँगै रक्तदान गर्न सकिने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपमहामन्त्री एवं भक्तपुर शाखाका पूर्वसभापति मनोजककुमार थापा बताउनुहुन्छ । उहाँले किशोरकिशोरीले आफ्नो जन्मदिनको अवसर, विवाहोत्सव र अन्य पर्वका अवसरमा रक्तदान गर्न प्रेरणा दिन सके देशमा चुलिएको रगत अभावलाई कम गर्न सक्ने बताउनुहुन्छ ।
एक स्वस्थ्य व्यक्तिले वर्षमा चारपटकसम्म रक्तदान गर्न सक्ने भएकाले युवायुवतीलाई रक्तदानमा आकर्षित गर्न सके नेपालमै रगतको अभाव नहुने उहाँको भनाइ थियो ।
रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन भन्दै वाग्मती प्रदेशसभा सदस्य एवं नेपाल रेडक्रस सोसाइटीका पूर्वउपसभापति किरण थापाले आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै भएकाले रक्तदाता संस्थाले वर्षमा कम्तीमा तीनपटक रक्तदान कार्यक्रमको आयोजना गर्ने अभियान चाल्नुपर्ने बताउनुहुन्छ ।
कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ भन्दै उहाँले बिरामी अस्पताल पुगेपछि रगतकै लागि आउने फोन र सोर्सफोर्सको अन्त्य गर्ने गरी रगतको उपलबध गराउने गरी अभियान चाल्नुपर्ने बताउनुहुन्छ ।
कस्ता मानिसहरुले रक्तदान गर्न सक्छन् ?
एक स्वस्थ र निरोगी मानिसले रक्तदान गर्न सक्छन् । शरीरको रक्तचाप सामान्य अवस्थामा रहेका व्यक्तिले, ४५ किलोग्रामभन्दा बढी तौल भएका १८ वर्षदेखि ६५ वर्षसम्मका स्त्री तथा पुरुषले रक्तदान गर्न सक्छन् । तर दीर्घकालीन रुपमा औषधि सेवन गरिरहने व्यक्तिहरु, रोगको उपचार गरिरहेका व्यक्तिहरु, महिनावरी भएको समयमा, ज्वरो, पखाला वा अन्य सरुवा रोगहरुले सताएको अवस्थामा, बच्चालाई दूध चुसाउने महिला, गर्भवती, रगतको कमी भएका व्यक्तिहरु, मुटुरोग भएका जस्ता व्यक्तिले भने रक्तदान गर्न नहुने भक्तपुर अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतम बताउनुहुन्छ ।
रक्तदान गर्दा कमजोरी हुन्छ, शरीरको प्रतिरोधात्मक शक्ति घटेर धेरै रोगहरुले सताउँछ,, शरीरको रक्तचाप अस्थिर हुन्छ, धेरै दिनसम्म आराम चाहिन्छ, रोगहरु सर्छ, दुखाइ धेरै हुन्छ, रक्तदान गरेको हात पछि गएर सुक्छ, कपाल झर्छ, आँखा कमजोर हुन्छ भन्ने गलत प्रचारले पनि रक्तदान गर्न हिच्किचाउने गरेको उहाँको अनुभवछ ।
रक्तदानले यस्तो हुन्छ फाइदा
रक्तदानले शरीरमा स्फुर्ती ल्याउने, रोगसँग लड्ने क्षमताको विकास हुने, मुटु स्वस्थ रहनाका साथै शरीरमा आइरन तथा राता रक्त कोषिकाको मात्रा सन्तुलित गर्ने, शरीरको तौल सन्तुलित हुने, कलेजो क्यान्सरको जोखिम कम गर्ने, रक्तचापलाई सन्तुलित राख्न सहयोग गर्ने, हड्डीको घनत्व बढाएर हड्डी तथा जोर्नीहरुलाई बलियो बनाउने, रगतमा भएको ज्यादा कोलेस्ट्रोल र अनावश्यक बोसोको मात्रालाई कम गर्ने जस्ता फाइदा हुने रेडक्रसकर्मी एवं चिकित्सकहरु बताउँछ्न् । मानव जीवनमा निश्चित समयमा रगत बन्ने र बिग्रने प्रक्रिया चलिनैरहन्छ । यसलाई शरीरमा साँचेर राखे पनि आफैँ बिग्रेर जान्छ र नयाँ रगत उत्पादन हुन्छ ।
कहिलेदेखि सुरु भयो रक्तदान
नेपालमा विसं २००० सालदेखि रक्तदानको सुरुआत भएको र समाजसेवी दयावीरसिंह कंसाकारले नेपालमा पहिलोपटक रक्तदान गरेसँगै ‘रक्तदान जीवनदान’ अभियान सुरु भएको मानिन्छ ।
तत्कालीन राजा महेन्द्रले रक्तदान गरी यो अभियानलाई टेवा पुर्याएको उल्लेख छ । नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले अहिलेसम्म एक सय ७८औँ पटक रक्तदान गरेर धेरै पटक रक्तदान गर्नेको सूचीमा पर्नुभएको छ ।
नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत माग हुने गरे पनि आपूर्ति भने निकै कम छ । अधिक रक्तस्रावका बिरामी, दुर्घटनाका बिरामी, प्रसूति, मुटु, क्यान्सर, मिर्गौला, मस्तिष्कलगायतको शल्यक्रियामा रगत अनिवार्य चाहिन्छ भने थालासेमिया, ल्युकेमियालगायत रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पताका बिरामीलाई तारन्तार रगत चाहिरहन्छ ।
पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ, तर हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । यस्ता विषयमा पर्याप्त जानकारी दिन नसक्दा रक्तदाताको सङ्ख्या बढाउन नसकिएको जनाइएको छ । रगतको वर्गीकरण ए, बी, ओ तथा एबी र पोजिटिभ एवं नेगेटिभ भनेर गरिएको हुन्छ ।
नेपाल रक्तसञ्चार केन्द्रले यो रगत समूहका व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बरलगायतका लगत राख्ने गरेकाले आवश्यक पर्दा मोबाइल वा एसएमएसबाट यो समूहको रगतको खोजी गर्न सकिन्छ । यसमा पनि ओ नेगेटिभ समूहको रगत पाउन निकै गाह्रो छ ।
रेडक्रस सोसाइटी भक्तपुर शाखाले अहिलेसम्म २९ हजार पिन्टभन्दा बढी रगत सङ्कलन गरेको र ५१ हजार पिन्टभन्दा बढी रगत वितरण गरेको शाखाका सभापति परशुराम पाण्डे बताउनुहुन्छ ।
नेपालमा अहिले शून्य दशमलव ९२ प्रतिशत नागरिकले मात्रै रक्तदान गरेका छन् । कूल जनसङ्ख्याको दुई प्रतिशतले मात्रै रक्तदान गर्ने हो भने पनि नेपालमा रगतको अभाव नहुने उहाँ बताउनुहुन्छ । उहाँले रगत नपाए भक्तपुर जानु भन्ने अभियानलाई अहिलेसम्म पूरा गर्दै आएको बताउँदै उहाँले रगतको माग अत्यधिक रहेको तर सङ्कलन कम रहेकाले यो अभियानलाई शतप्रतिशत उपलब्धिमा पुर्याउन प्रयास गरिरहेको र अहिले ५१ प्रतिशत पूरा गरेको बताउनुभयो ।
उहाँले भक्तपुरबाट रगतको किनबेचको अवस्था अन्त्य गरेको बताउँदै अहिले उपत्यकाका तीन जिल्लासँगै धादिङ, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत सङ्कलन गरिरहेको बताउनुभयो । बिरामीका लागि चिकित्सकले रगत आवश्यक भनेर लेखिदिने बित्तिकै ठूलो तनावको अवस्था आउने भएकाले त्यस्तो तनाव नलिई भक्तपुरमा आउन उहाँले आह्वान गर्नुभयो ।