तिल विक्रम थेवे
दोहा कतार- २० सेप्टेम्बर २०२४ मा सम्पन्न भएको कोशी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेशनले नँया कार्यसमिति बनाउन नसकेपछि अधिवेशन भएको ६ दिनपछि २६ सेप्टेम्बर २०२४ विहिबार राती निर्वाचन समितिले अवैधानिक तरिकाले जवरजस्ती कार्य समिति बनाएकोमा असन्तुष्ट तीन जिल्लाहरु ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, पाँचथर सेवा समाज कतार र ईलाम सेवा समाज कतारले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोशी प्रदेश समन्वय परिषद कतारमा नरहने निर्णय गरेको छ ।
अधिवेशनबाट विधान अनुमोदन नै नभई त्यही विधानको प्रयोग निर्वाचन समितिले गरेको र निर्वाचन समितिबाट केही सदस्य बाहिरिएपछि निर्वाचन समिति स्वयम् अल्पमतमा रहिसकेको उनीहरुको भनाई थियो । उमेदवारहरू वीचमा सर्व सहमति हुन नसकेर प्रतिस्पर्धाद्वारा नै कार्यसमिति अध्यक्ष, उपाध्यक्षहरु निर्वाचित गर्नुपर्ने माहौल बनि सकेपछि पनि निर्वाचन समितिले सो नगरी एक उमेदवारलाई विजय घोषित गरेर जानु, निहीत अधिकारभन्दा बाहिर गएर विधान विपरीत महिला उपाध्यक्ष पद समेत सिर्जना गर्नु जस्तो अवैधानिक कार्यको तीन जिल्ला संस्थाहरुले पुर्ण असहमति जनाउदै कोशी प्रदेश समन्वय परिषदलाई बहिष्कार गर्ने निर्णय गर्नुपरेको तीन जिल्लाका अध्यक्षहरुको भनाई रहेको थियो ।
ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका प्रमुख सल्लाहकार दुर्गा प्याकुरेलले अध्यक्षको उमेदवारी दिएका थिए भने इलाम सेवा समाज कतारका अध्यक्ष खडक फागोले प्रथम उपाध्यक्ष र पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राईले उपाध्यक्षको उमेदवारी दिएकी थिइन् ।
उमेदवारहरू वीचमा सहमति हुन नसकेर निर्वाचन मै जानुपर्ने भएपछि उमेदवारहरूले सोही प्रक्रियामै जान निर्वाचन समितिलाई अनुरोध गर्दै आएका भएपनि पर्दा पछाडिबाट राजनितिक चलखेल संगै निर्वाचन समितिले केही जिल्लाहरुलाई पाखा लगाउँदै जवरजस्ती कार्यसमिति बनायो ।
तीन जिल्ला संस्थाहरु राजनितिक चलखेल र गतिविधिबाट टाढा रहेकोले यस्ता गतिविधिमा संलग्न नहुने भएकोले तीन जिल्लाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोशी प्रदेश समन्वय परिषद कतारलाई बहिष्कार गर्ने निर्णय गरेको सम्बन्धित जिल्लाका अध्यक्षहरुको भनाई थियो ।
तीन जिल्लाहरूले संयुक्त प्रेस विज्ञप्ती जारी गर्न अघि आआफनो जिल्लाबाट समेत प्रेस विज्ञप्ती जारी गरेका थिए ।
तीन जिल्ला ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका अध्यक्ष कुमार खडका, इलाम सेवा समाज कतारका अध्यक्ष खडक फागो र पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जस्ताको तस्तै:
“२० सेप्टेम्बर २०२४ का दिन भएको कोशी प्रदेश समन्वय परिषद कतारको अधिवेशनको बन्द सत्रले कार्य समिति निर्वाचित गर्न नसकेको सर्वविदितै छ । २६ सेप्टेम्बर २०२४ विहिबार बेलुकी पर्दा पछाडि परिचालित यान्त्रिक निर्वाचन अल्पमतको समितिले, निर्वाचन समितिका केही सदस्यहरु निर्वाचन समितिबाट बाहिरिएपछि, सुनियोजित ढंगबाट केही जिल्लाहरु र उमेदवारहरूको असहमतिलाई वेवास्ता गरी, परिषद सदस्यहरुलाई मताधिकारबाट बन्चित गर्दैै, विधान विपरित महिला उपाध्यक्ष भन्ने पद आफै सृजना गरेर पद वितरण गर्दै, अवैधानिक प्रक्रियाबाट, राजनितिक तिगडम बाजी र चाल बाजि गर्दै जवरजस्ती एकतर्फी ढंगले कार्यसमिति बनाएको छ ।
विविधतामा एकता भएको समाज र समुदायको थातथलो कोशी प्रदेशको सामुदायिक सौन्दर्यता र समाज संरचनाको समेत सम्मान नगरी, कोशी प्रदेश अन्तर्गतका जिल्लाहरूमाथि पक्षपात गरी काखा र पाखाको व्यवहार गर्दै जवरजस्ती एकतर्फी ढंगले कार्यसमिति बनाएकोमा ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, ईलाम सेवा समाज कतार र पाँचथर सेवा समाज कतारको गम्भीर ध्यानाकर्षण भएको छ ।
विधी पद्धती र प्रक्रिया अनुसार अध्यक्ष, प्रथम उपाध्यक्ष, उपाध्यक्ष लगायत अन्य पदमा प्रत्यासी रहेका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा जान चाहेपनि निर्वाचन मार्फत प्रतिस्पर्धा गर्ने वातावरण नै नमिलाई पर्दापछाडीको निर्देशन र इसाराबाट, परिषद सदस्यहरुको मताधिकारको हकलाई समेत कुण्ठित गरेर आफु अनुकुल एक उमेदवारलाई जवरजस्ती विजय घोषित गर्ने निर्वाचन अल्पमत समिति संयोजकको बदनियतपूर्ण कदमको घोर भत्र्सना गर्दछौं ।
असहमत रहेका जिल्ला संस्थाहरुलाई समेटेर लैजान पहलकदमी गर्नको सट्टा विधी विधान विपरित निर्वाचित गरिएको प्रक्रियालाई ठिक हो भन्दै उल्टै विज्ञप्ती निकालेर भ्रम सुजना गरिनुले उनीहरु एकलौटी ढंगबाट कोशी प्रदेश समन्वय परिषदलाई आफनो अनुकुल बनाउन चाहेको षडयन्त्र हो भन्ने स्पष्ट छ ।
कोशी प्रदेश समन्वय परिषद कतारलाई ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, ईलाम सेवा समाज कतार र पाँचथर सेवा समाज कतार आवश्यक नपर्ने जस्तो व्यवहार देखाउँदै पर्दापछाडिबाट निर्देशन गर्ने, निजी स्वार्थमा लिप्त केही व्यक्ति, समुह र राजनितिक संगठनहरुको रवैया र निर्वाचन अल्पमत समितिको अवैधानिक, जवरजस्ती र बल मिच्याईपुर्वक गरिएको निर्वाचन प्रक्रियाको तीन जिल्ला संस्थाहरु ताप्लेजुङ, इलाम र पाँचथर घोर विरोध गर्दै हामी पुर्णरुपमा असहमत जाहेर गर्दछौं ।
एक विशुद्ध सामाजिक संस्था नभई राजनितिक संगठनहरुको चलखेल गर्ने अखडा र जिल्लाका संस्थाहरूभित्र समेत घुसेर गुटफुट ल्याउनको लागि मात्र यो कोशी प्रदेश समन्वय परिषद स्थापित भएको भन्ने कुरा यी सवै परि घटनाहरुले यथार्थ घामजस्तै छर्लङ्ग पारेको छ ।
यस समन्वय परिषदबाट जिल्ला संस्थाहरुले कुनै किसिमको सामाजिक अपनत्व पाउन नसक्ने हाम्रो ठहर छ ।
अन्य जिल्लाहरुलाई कठपुतली बनाएर नचाएजस्तो ताप्लेजुङ, इलाम र पाँचथर कसैको ईशारामा कठपुतली नवन्ने प्रतिवद्धता जाहेर गर्दै ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, ईलाम सेवा समाज कतार र पाँचथर सेवा समाज कतार कोशी प्रदेश समन्वय परिषदमा नरहने र समन्वय पनि नगर्ने घोषणा गर्दछौं साथै ताप्लेजुङ, इलाम र पाँचथर सेवा समाजहरूले सिफारिस गरेका सम्पुर्ण परिषद सदस्यहरुलाई उनीहरुले बुझाएको परिषद सदस्य शुल्कसहित आजैका मितिदेखि परिषद सदस्यहरु फिर्ता गर्ने निर्णय गरेको जानकारी गर्र्दै यो प्रेस विज्ञप्ती जारी गरेका छौं ।
कोशी प्रदेश समन्वय परिषद कतार बाहेक, कतारमा रहेका स्थापित अन्य सामाजिक संघसंस्थाहरु संग सदा झैं संस्थागत समन्वय, सहकार्य, सौहार्दता एवं सामाजिक सहिष्णुता रही रहनेछ ।”