कतार: स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना कतारमा सामाजिक सेवाको भावनालाई शिरोधार्य गर्दै स्थापित स्याङ्जा सहयोग समाज कतारले आफ्नो २० औं वार्षिकोत्सव तथा २१ औं स्थापना दिवस विशेष सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ। संस्थाले आगामी १६ मई २०२५, शुक्रबारका दिन "अनाथ तथा असहाय बालबालिकाहरुको सहयोगार्थ" बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो।
कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी जगतका हस्तीहरूको विशेष प्रस्तुति रहने भएको छ। बहुचर्चित लोकदोहोरी गायक तथा आकर्षक मोडेल पशुपति शर्माले आफ्नो सुमधुर आवाज र दमदार प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्। त्यस्तै, नेपाली लोकदोहोरी गायनमा छुट्टै पहिचान बनाउन सफल गायिका शर्मिला गुरुङले पनि आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरी माहोललाई थप संगीतमय बनाउनेछिन्। यसका साथै, कलाकार रामचन्द्र ढकालले पनि आफ्नो प्रस्तुतिमार्फत कार्यक्रममा थप रौनकता थप्नेछन्।
कार्यक्रममा कतारमा रहेका स्थानीय श्रमिक कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्। यसका साथै, नेपाली मौलिक बाजा नौमतीको प्रत्यक्ष प्रस्तुतिले नेपाली कला र संस्कृतिको झलक दिने आयोजकले जनाएको छ। प्रत्यक्ष दोहोरी घम्साघम्सी पनि कार्यक्रमको विशेष आकर्षण रहनेछ, जहाँ पशुपति, शर्मिला र रामचन्द्रले दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।
कार्यक्रम ट्युनिसियन स्कुल, अल लक्तामा आयोजना हुनेछ र बिहान ११:०० बजेदेखि सुरु हुनेछ। कार्यक्रमको मुख्य प्रायोजक भिक्टोरिया गोल्ड एण्ड डाइमण्ड रहेको छ भने अन्य प्रायोजकहरूमा दोहा स्वीमिङ एण्ड ल्यान्डस्केप, नेपाल एयरलाइन्स र टेलि रेस्टुरेन्ट रहेका छन्। दर्शक हरुलाई यातायातको सुविधा विभिन्न ठाउँबाट उपलब्ध गराइने छ भने कार्यक्रमको टिकटहरू नेपाली रेस्टुरेन्टहरूमा पनि उपलब्ध छन ।
संस्थाले कतारमा रहेका सम्पूर्ण स्याङ्जावासी तथा गैर-स्याङ्जावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन र अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजित यस पुण्य कार्यमा सहभागी भइदिन हार्दिक अनुरोध गरेको छ। साथै, कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकारलगायत सम्पूर्णलाई कार्यक्रममा उपस्थितिका लागि विशेष निमन्त्रणा गरेको छ।
कार्यक्रमले मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सेवाको भावनालाई अझ बलियो बनाउने विश्वास लिइएको छ।