दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औं महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता) दर्ता प्रक्रिया सम्पन्न भएको छ।
प्रतिनिधि आवेदन प्रक्रिया २०२५ अगस्ट १० देखि अगस्ट २० सम्म SMART NRNA मोबाइल एपमार्फत खुला गरिएको थियो । सोही अनुसार कतारबाट मात्रै दुइसय अठहत्तर (२७८ ) जनाले आफ्नो नाम दर्ता गराएका छन्।
कतारबाट २०२५–२०२७ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ४ हजार ६१० कायम रहेको र स्वत गरि जम्मा - जम्मी १७९ जनाले एनआरएनए आइसीसीको चुनावमा प्रतीनिधि बन्न पाउने संघ कतारका अध्यक्ष पदम गिरिले जानकारी गराए ।
२० अगस्ट साँझसम्म ५६ देशबाट ४ हजार ६५९ जनाले स्मार्ट एनआरएनए एपमार्फत आफ्नो नाम दर्ता गराएको र दर्ता भएका नामावलीलाई राष्ट्रिय समितिहरूले प्रमाणीकरण गरेपछि अन्तिम रूप दिइने संघका महासचिव शिव भुजेलले जानकारी गराए ।
सर्वाधिक प्रतिनिधि संख्या भएका मुलुकहरूमध्ये जापानबाट २३३, अष्ट्रेलियाबाट २२८, अमेरिकाबाट २०८, कतारबाट १७९ क्यानडाबाट १६८, युकेबाट १५० र युएईबाट १४७ प्रतिनिधि चयन हुनेछन्।
संघको विधानअनुसार यस महाधिवेशनमा वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तमान र पूर्व सदस्यहरू प्रतिनिधि बन्न पाउने व्यवस्था छ। प्रमाणीकरणपछि करिब ३ हजार ४०० प्रतिनिधिलाई मात्र मतदानमा सहभागी गराइने जनाइएको छ।