दोहा, कतार (तिलविक्रम थेवे – तमु प्ये ल्हु संघ कतारले आगामी सेप्टेम्बर १९, २०२५ मा आफ्नो ५औं अधिवेशन तथा ११औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ। संस्थाले अधिवेशन र वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरेको कार्यक्रम संयोजक सिबि थिम्जेले जानकारी दिए।
तमु (गुरुङ) समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा सक्रिय यो संस्थाले अधिवेशनमार्फत नयाँ जुझारु कार्यसमिति चयन गर्ने योजना बनाएको छ। वर्तमान अध्यक्ष चन्द्र ल्हेगे तमुका अनुसार, कार्यक्रममा तमु समुदायको संस्कार र संस्कृतिमा आधारित विविध सांस्कृतिक प्रस्तुति, परम्परागत प्रदर्शन र अन्य आकर्षक कार्यक्रमहरू समावेश हुनेछन्।
एसियन टाउन प्लाजा मलस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ११:३० बजेबाट सुरु हुने यो कार्यक्रममा कतारमा रहेका सामाजिक संघसंस्था, वैचारिक संगठन, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार, शुभचिन्तक, संस्थाका सदस्य, पूर्वसदस्य, तमु तथा गैर-तमु दाजुभाइ, दिदीबहिनीहरूलाई उत्साहपूर्ण सहभागिताका लागि निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।
संस्थाको नारा “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु महस्याँ म्हि म्हमु” (अर्थात्, शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व हराउँछ) ले विश्वभर छरिएर रहेका तमु गुरुङ समुदायलाई आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना, संरक्षण र प्रवद्र्धन गर्न प्रेरित गर्छ। कतारमा स्थापित यो संस्था नेपाली समुदायबीच सामाजिक, सांस्कृतिक संवाहकको रूपमा सौहार्दता, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्दै सक्रिय छ।
तमु प्ये ल्हु संघ कतारले स्थापनाकालदेखि नै सामाजिक र मानवीय सेवामा निरन्तर योगदान पुर्याउँदै आएको छ। यो अधिवेशन र वार्षिकोत्सवले संस्थाको उद्देश्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।