दोहा : नेपाल मगर संघ शाखा कतारले मगर समुदायको महान् सांस्कृतिक चाड 'माघी पर्व' (माध्या सकराती) २०२६, आगामी शुक्रबार एक भव्य सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ।
कार्यक्रमलाई विशेष बनाउन नेपालका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक/गायिका प्रीति आले, अमर रोका मगर सहित स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने संघले जनाएको छ।
आफ्नो फरक शैली र दमदार प्रस्तुतिका लागि प्रख्यात आले र रोकाले कतारमा रहेका नेपाली दर्शकहरूलाई आफ्नो चर्चित गीतहरू मार्फत मनोरञ्जन दिलाउनेछन्।
कार्यक्रमका मुख्य आकर्षणहरू:
कलाकारहरूको प्रस्तुति: नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू प्रीति आले र अमर रोका मगर सहितका कलाकार द्वारा आफ्नो सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिलाउनेछन्।
सांस्कृतिक झाँकी: मगर समुदायको मौलिक पहिचान झल्किने कौराह, हुर्रा र सालैजो जस्ता नृत्यहरूको प्रदर्शन गरिनेछ।
मगर परिकार: माघी विशेष परिकारहरू सहित सेलरोटी लगायतका मौलिक परिकारहरूको स्वाद लिन पाइनेछ।
स्थानीय प्रतिभा: कतारमै रहेका स्थानीय मगर कलाकारहरूको विशेष प्रस्तुति।
नेपाल मगर संघ कतारका अध्यक्ष समीर थापा मगरका अनुसार, यो कार्यक्रम केवल मनोरञ्जन मात्र नभई कतारमा रहेका सम्पूर्ण नेपालीहरूबीच आपसी भाइचारा र एकता अभिवृद्धि गर्ने माध्यम पनि हो।
प्रवासमा रहेर पनि आफ्नो कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले संघले हरेक वर्षझैं यस वर्ष पनि 'माघी महोत्सव' आयोजना गर्न लागिएको अध्यक्ष मगरले जानकारी गराए ।
संघका महासचिव पान्डप थापाले आउँदो शुक्रबार अल बुकेर स्थित "डि पि एस मोनार्च इन्टरनेशनल स्कुलको सभाहल, को सभाहलमा कतारमा कार्यरत सम्पूर्ण मगर दाजुभाइ सहित सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई माघी पर्वको शुभकामना साटासाट गर्दै भव्य सांस्कृतिक कार्यक्रममा उपस्थितिको निम्ति हार्दिक निमन्त्रणा गरिएको जानकारी गराएका छ्न ।
