कतार, जनवरी ९, २०२५ (शुक्रबार) –
कतारमा बसोबास गर्दै आएका नेपाली साहित्यप्रेमीहरूले एक स्मरणीय सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्। अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो शुक्रबार हुने वाचन श्रृङ्खलाको १६६ औँ डबली सम्पन्न भएको छ। यसै अवसरमा अनेसास केन्द्रको ३५ औँ स्थापना दिवस मनाइएसँगै साहित्यिक बनभोज पनि आयोजना गरिएको थियो।
कार्यक्रमको विशेष स्रोता अगन्धर देवकोटा (अग्नि) रहेका थिए, भने कार्यक्रमका संयोजक शोभाराम ओली थिए। कतारमा कर्मथलो बनाएका दर्जनौँ नेपाली साहित्यकारहरूले मार्मिक कविता, हास्यव्यंग्य, गजल र दार्शनिक संवेदनाले भरिएका रचनाहरू वाचन गर्दै उपस्थित साहित्यप्रेमीहरूको मन जितेका थिए।
यस अवसरमा श्रमिक सञ्जालद्वारा प्रकाशित कृति "पुरानो पन्ना" लाई विशेषत: वाचनका क्रममा प्रस्तुत गरिएको थियो, जसले उपस्थित पाठक–स्रोताहरूको उत्साहलाई थप बढाएको थियो।
रचनावाचनपछि सहभागीहरूले एकसाथ साहित्यिक बनभोजको आनन्द लिएका थिए। ताजा पकवानहरूको सुगन्धले वातावरण नै भरिदिएको थियो भने उपस्थितहरू आपसमा हाँसोठट्टा गर्दै, वाचनका अनुभव साझा गर्दै रमाइरहेका थिए। भोजनपश्चात् सांस्कृतिक कार्यक्रमले रमाइलो मोड लियो। नेपाली गीतहरूको मधुर रिदमले चारैतिर छाप पार्दै सबैको मनलाई भावपूर्ण तरंगमा नुहाइदियो।
कार्यक्रम समुद्रको किनारमा झुम्मिएका रुखहरूको छायाँमा सञ्चालन हुँदा, उपस्थितहरूले आफ्नै देशको कुनै जंगलमा बसेजस्तो अनुभूति पाएका थिए। हल्का समुद्री छालाको आवाज, सूर्यास्तको सुनौलो प्रकाश र गीतको मेलले साँझलाई जादुमय बनाएको थियो। साहित्य, संगीत र प्राकृतिक सौन्दर्यको संगमले उपस्थित सबैका मनमा स्थायी स्मृति अङ्कित गरेको थियो।
समयसँगै सूर्य क्षितिजपारी गएपछि कार्यक्रमले एक स्मरणीय साँझको रूपमा समापन भएको थियो। सहभागीहरूले यस किसिमको वाचन श्रृङ्खला र साहित्यिक मेलमिलापले कतारमा बसोबास गर्ने नेपाली समुदायको सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।