दोहा, कतार
नेपालका राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा कतारमा विशेष कार्यक्रम सम्पन्न भएको छ। प्रवासी नेपाली एकता समाज (पानस) कतार र नेपाल राष्ट्रवादी युवा शक्ति कतारको संयुक्त आयोजनामा यो कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको हो।
१६ जनवरी, शुक्रवारका दिन ग्रान्ड मलस्थित लालीगुराँस होटलको सभाहलमा आयोजित उक्त कार्यक्रम पानस कतारका कार्यवाहक अध्यक्ष रविन्द्र सिंहको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा पानस कतारका अध्यक्ष तिलक श्रेष्ठले आफ्नो कार्यव्यस्तताका कारण भौतिक रूपमा उपस्थित हुन नसकेको जानकारी गराउँदै शुभकामना सन्देश पठाउनुभएको थियो। उहाँले आफ्नो सन्देशमार्फत राष्ट्रनिर्माताप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रिय एकताको मर्मलाई आत्मसात् गर्न सबैमा आग्रह गर्नुभयो।
कार्यक्रमको सुरुवात ब्यानर उद्घाटन र दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा सहभागीहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा पुष्पगुच्छा, माला र अबिर अर्पण गर्दै भावपूर्ण माल्यार्पण गरेका थिए। यसै उद्घाटन समारोहमा संखुवा सभा समाज कतारको बाजा समूहले मीठो धुन पस्किएर माहोललाई थप संगीतमय बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय सदस्य दीपक उप्रेतीले पानसको ब्यानर उद्घाटन र दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा उहाँले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। उप्रेतीले आफ्नो मन्तव्यका क्रममा पृथ्वीनारायण शाहले स-साना राज्यमा विभाजित नेपाललाई एकीकरण गरेर विश्वमा नेपाली पहिचान दिलाएको उल्लेख गर्नुभयो। उहाँले शाहका दिव्य उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै राष्ट्रियता जोगाउन र देशको सार्वभौमिकताको रक्षाका लागि सबै नेपालीहरू एक हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा कतारमा स्थापित विभिन्न स्थानीय कलाकारहरूले राष्ट्रप्रेमी गीत तथा संगीत प्रस्तुत गरेका थिए। कलाकारहरूको मार्मिक प्रस्तुतिले हलमा उपस्थित सबैलाई भावविह्वल र देशभक्तिले ओतप्रोत बनाएको थियो।
यसअघि, उपाध्यक्ष द्रोण बहादुर खड्काले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा दोहामा स्थापित विभिन्न वैचारिक, सामाजिक तथा जिल्लागत संघ-संस्थाका प्रतिनिधिहरू र नेपाली समुदायका व्यक्तित्वहरूको बाक्लो उपस्थिति सहित मन्तव्य रहेको थियो।
अन्त्यमा, सभापतिको आसनबाट कार्यवाहक अध्यक्ष रविन्द्र सिंहले प्रवासमा रहेर पनि आफ्नो देशको गौरवपूर्ण इतिहास र राष्ट्रिय एकताको महत्त्वलाई उजागर गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै कार्यक्रम समापन गर्नुभयो।
कार्यक्रमको सहजीकरण महामन्त्री करन सिंह बोहराले गरेका थिए । कलाकार,पानस कतारलाई विभिन्न माध्यम बाट सहयोग गर्नेलाई सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो ।
GSPSS Global द्वारा योग प्रदर्शन
सोही कार्यक्रममा, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज कतारका प्रतिनिधिहरू धर्मेन्द्र प्रसाद गुप्ता, नारायन कार्की, बासुदेव सुवेदी, पंकज मण्डल, श्री प्रलाप साह र रमेश यादव लगायतले योग गर्ने तरिका (योगासन) बारे जानकारीमूलक सत्र सञ्चालन गर्नुभयो। उहाँहरूले योगका विभिन्न आसनहरू प्रदर्शन गर्दै यसले शारीरिक तथा मानसिक शान्ति र एकता कायम राख्न पुर्याउने योगदानबारे प्रकाश पार्नुभएको थियो।
