दोहा, कतार
नेपाल मगर संघ, शाखा कतारको आयोजनामा ‘माघ्या सकराटी (मिनाम सार ल्हेस् ५०१९)–२०२६’ सांस्कृतिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार कतारको अल ओकिरस्थित डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा आयोजित उक्त कार्यक्रममा नेपालकी चर्चित भर्षटायल गायिका प्रीति आलेको विशेष सांगीतिक प्रस्तुतिले प्रवासमा रहेका नेपालीहरूलाई मन्त्रमुग्ध बनायो।
हलका हजारौँ दर्शकले मोबाइलको फ्ल्यास बालेर प्रीतिलाई स्वागत गर्दै,स्टेजमा ‘झोर्ले हजुर’ भन्दै देखा परेकी उनले ‘पट्टकोके झोरा’ बाट आफ्नो प्रस्तुति सुरु गरिन्। प्रीतिले ‘बामरी’, ‘पञ्चेबाजा’, ‘रोधी घरमै गाँस र बास’, ‘हे कान्छा कौराहा’, ‘सोल्टी राजाको टुमलेट’ र ‘दोहोरी ब्याटल’ जस्ता आफ्ना हिट गीतहरू गाएर दर्शकलाई नचाइन्।
नेपालबाट आएका अर्का चर्चित लोक तथा दोहोरी गायक अमर रोका मगरले माहोललाई थप संगीतमय बनाए । मगरले आफ्नै रचनाका गीतहरू गाए । उनले सालैजो, जलजला पारी, नाच माया, बजाउ बजाउ बाजा पञ्चेबाजालगायतका गीत गाएर नचाए भने उनलाई दर्शकले भरपुर साथ दिए ।
कार्यक्रममा माघ्या सकराटीको महत्वबारे सल्लाहकार सदस्य विवेक पुलामी मगरले प्रकाश पारेका थिए। सांस्कृतिक कार्यक्रमअन्तर्गत नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरे भने एरिया विभाग र समितिका कलाकारहरूले सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा र भुम्या लगायतका मौलिक प्रस्तुति दिएका थिए।
नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध मातृसंस्थाहरू, तमु प्ये ल्हु संघ र नेपाल तामाङ घेदुङ कतारले सगुन स्वरूप कोसेली उपहार प्रदान गर्दै सद्भाव प्रकट गरेका थिए।
कार्यक्रममा सांस्कृतिक वाङ राजा रमेश कनौजे मगरलाई खादा र फेटाद्वारा विशेष सम्मान गरियो
नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले पश्चिमा संस्कृतिको प्रभाव बढिरहेका बेला मगर संघले प्रवासमा मौलिक संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गरे। संघका अध्यक्ष समीर थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव पाण्डप थापा मगर र द्वितीय उपाध्यक्ष रबिना मगरले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष देवीकुमारी मगरले राखेकी थिइन्।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष समीर थापा मगरले दुई महिनाको अथक प्रयासले कार्यक्रम सफल भएको बताउँदै सम्पूर्ण सहयोगी र प्रायोजकहरूलाई आभार व्यक्त गरे। कार्यक्रममा कतारस्थित विभिन्न वैचारिक, सामाजिक तथा व्यावसायिक संघ-संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।