दोहा, कतार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दीपक उप्रेतीले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई विश्वभर रहेका नेपाली दूतावास र कूटनीतिक नियोगहरूले सरकारी स्तरबाटै मनाउनुपर्ने माग गर्नुभएको छ।
दोहामा आयोजित पृथ्वी जयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले भन्नुभयो, "पृथ्वी जयन्ती केवल राप्रपा वा राष्ट्रवादी नेपालीहरूको मात्र कार्यक्रम होइन, यो सम्पूर्ण नेपालीको गौरवमय दिन हो। आगामी वर्षदेखि कतारस्थित नेपाली दूतावास र विश्वभरका कूटनीतिक नियोगहरूले यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउन म यही मञ्चबाट आग्रह गर्दछु।"
इतिहास र राष्ट्रिय मुद्राको प्रसङ्ग
उप्रेतीले इतिहासको सही विश्लेषण बिना वर्तमान बुझ्न नसकिने तर्क गर्दै पृथ्वीनारायण शाहको योगदानलाई राष्ट्रले उचित सम्मान दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, "आधुनिक नेपाल निर्माणको स्मरण गर्दै श्री ५ पृथ्वीनारायण शाहको तस्बिर नेपाली मुद्रामा अङ्कित गरिनुपर्छ। आगामी निर्वाचनपछि बन्ने नेतृत्वले कुनै पनि बाह्य वा आन्तरिक दबाबको सामना गर्दै यो निर्णय लागू गर्नुपर्छ।"
वर्तमान राजनीति र दण्डहीनता
देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उप्रेतीले नेपालमा दण्डहीनताले सीमा नाघेको आरोप लगाउनुभयो। "२०७४ को संविधान बनेपछिका आन्दोलन र राजनीतिक विकासक्रमले जनतालाई के दियो? पछिल्लो पाँच महिनाको अवस्था मात्र विचार गर्ने हो भने पनि देशमा अराजकता बढेको छ," उहाँले भन्नुभयो।
युवा पलायन र रोजगारीको अभाव
स्वदेशमा अवसर नपाउँदा नेपाली युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, "देशमा रोजगारी सिर्जना हुन सकेको छैन। थोरै रोजगारी पाइहाले पनि त्यहाँ सम्मान छैन। नेताका आफ्ना मान्छे नभई छोराछोरीले अवसर पाउँदैनन्, जसका कारण युवाहरू निराश छन्।"
पृथ्वीनारायण शाहले बिखण्डित अवस्थाका बाइसे-चौबिसे राज्यहरूलाई एकीकरण नगरेको भए आज 'नेपाली' भन्ने अवस्था नै नरहने स्मरण गर्दै उप्रेतीले राष्ट्र निर्माताको सम्मान नै वास्तविक राष्ट्रवाद भएको बताउनुभयो।