दोहा, कतार । कतारमा रहेका नेपालीहरूबीच पर्वको उमङ्ग र आत्मीयता साटासाट गर्न ‘गण्डकी प्रदेश समन्वय परिषद् कतार’ तथा आबद्ध जिल्ला संस्थाहरूले बृहत् सांगीतिक कार्यक्रम आयोजना गर्ने भएका छन्। बडा दसैँ, शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा सांगीतिक उत्सव आगामी नोभेम्बर २० तारिख (शुक्रबार) भव्यताका साथ सम्पन्न हुन लागेको हो।
कार्यक्रमको मिति नजिकिँदै गर्दा आयोजकले तयारीलाई तीव्र पारेको छ। प्रचारप्रसार, मञ्च व्यवस्थापन, कलाकारहरूको संयोजन तथा अन्य प्राविधिक पक्षहरूलाई अन्तिम रूप दिने काम धमाधम भइरहेको परिषद्ले जनाएको छ।
अल वुकैरस्थित डीपीएस मोनार्क इन्टरनेशनल स्कुल (DPS Monarch International School) को सभाहलमा दिउँसो १२:०० बजेदेखि साँझ ७:०० बजेसम्म चल्ने यस कार्यक्रमको मुख्य आकर्षण नेपाली लोक–पप सांगीतिक क्षेत्रको कालजयी ब्याण्ड ‘लेकाली’ को विशेष लाइभ प्रस्तुति रहनेछ। साथै, प्रवासमा रहेका स्थानीय प्रतिभावान कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाउने आयोजकले जनाएको छ।
यो कार्यक्रम केवल सांगीतिक मनोरञ्जनमा मात्र सीमित छैन। प्रवासमा रहेर विभिन्न समस्या र विपद्मा परेका नेपाली श्रमिकहरूको उद्धार तथा सहयोगार्थ परिषद्को ‘श्रमिक कल्याणकारी कोष’ स्थापना गर्ने पवित्र उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। यसका साथै, परदेशमा नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै नेपाली समुदायबीच आपसी एकता, भाइचारा र सद्भाव अझ प्रगाढ बनाउने लक्ष्य परिषद्ले लिएको छ।
कार्यक्रम विवरण
मिति: नोभेम्बर २०, २०२६ (शुक्रबार)
समय: दिउँसो १२:०० बजेदेखि साँझ ७:०० बजेसम्म
स्थान: डीपीएस मोनार्क इन्टरनेशनल स्कुल (DPS Monarch International School), अल वुकैर, कतार
मुख्य आकर्षण: ‘लेकाली’ ब्याण्डको लाइभ कन्सर्ट र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति
यसअघि नोभेम्बर ६ तारिखका लागि तय गरिएको उक्त कार्यक्रम परिषद्का अध्यक्ष नन्दलाल बी.के. (अजय) माथि परेको मातृशोक र केही प्राविधिक तयारीका कारण स्थगित गरिएको थियो।
आयोजकले कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी, पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिनुहुन निमन्त्रणा गरेको छ।