तिलविक्रम थेवे–दोहा कतार
ईलाम सेवा समाज कतारले गत जनवरी २३, २०२६–२०८२ माघ ०९ गते शुक्रबार कतारस्थित वक्रा समुद्रीतटमा संस्थाको ११औं स्थापना दिवस विविध कार्यक्रमसहित भव्यरुपमा मनायो ।
संस्थाका अध्यक्ष खडक फागो लिम्बुको अध्यक्षतामा सम्पन्न भएको ११औं स्थापना दिवस कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुको साझा सामाजिक संस्थाको रुपमा स्थापित गरिएको कोशी प्रदेश समन्वय समिति कतारका अध्यक्ष रुद्र आचार्य प्रमुखअतिथी रहेका थिए ।
सो स्थापना दिवस कार्यक्रममा आमन्त्रित कोशी प्रदेशभित्र पर्ने सम्पुर्ण जिल्लाका अध्यक्ष तथा प्रतिनिधीहरु, नेपाली महिला समाज कतारका प्रतिनिधी, विभिन्न वर्ग, तह र तप्काका व्यक्ति तथा प्रतिनिधीहरु – नेपाली समाजचिन्तक उत्प्रेरक सागर नेपाल, सामाजिक अभियन्ता तेज कटुवाल, केशव कार्की, दुर्गा प्याकुरेल, ईलाम सेवा समाज कतारका संरक्षक धनबहादुर विश्वकर्मा गहतराज, महिला संयोजक रेनु कार्की, युमा साम्यो महासभा कतारका अध्यक्ष योगेन माखिम, ताप्लेजुङ पाथीभरा सेवा कतारका अध्यक्ष कुमार खडका, पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राई, नेपाली महिला समाज कतारका उपाध्यक्ष सुष्मा खतिवडा कटुवाल, नेपाल मगर संघ कतारका द्धितीय उपाध्यक्ष रविना मगर, भोजपुर सेवा समाज कतारका अध्यक्ष महेन्द्र कार्की, संखुवासभा समाज कतारका अध्यक्ष विरेन मादेन लिम्बु, तेह्रथुम सेवा समाज कतारका अध्यक्ष महेन्द्र उप्रेती, उदयपुर सेवा समाज कतारका अध्यक्ष कमल वाग्ले, मोरङसुनसरी समाजका लिलानाथ आचार्य, राष्ट्रिय लोकदोहारी प्रतिष्ठान शाखा कतारका कृष्ण दर्लामी लगायतले ११औं स्थापना दिवसको शुभकामना दिए ।
ईलामेली बाँसुरीवादक लक्ष्मी सापकोटा सहित लोकदोहोरी प्रतिष्ठान शाखा कतारका कलाकारहरुको सांगीतिक प्रस्तुतीले कार्यक्रममा थप रौनकता छाएको थियो । वक्रा समुद्रीतटमा आएका नेपाली समुदाय तथा अन्य मुलुकका नागरिकहरु समेत दर्शक बनेर बडो उत्साहका साथ रमाईलो मानेर ईलामेलीहरुको कार्यक्रमलाई हेर्दै मन्त्रमुग्ध भएका थिए ।
उपमहासचिव मनकुमार योङहाङ लिम्बु र सचिव रविना मगरले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा ईलाम सेवा समाजका रविना मगर, ज्योती गौतम, अनु तामाङ, फुलमाया लिङदेन लिम्बुले खानपिन व्यवस्थापनमा महत्वपुर्ण सहयोग गरेका थिए भने कार्यक्रमस्थल व्यवस्थापन तथा यातायाततर्फ संरक्षक धनबहादुर विश्वकर्मा गहतराज, कार्यक्रम संयोजक बरिष्ठ उपाध्यक्ष तोरण बस्नेत, अध्यक्ष खडक फागो लिम्बु, कुवेर अधिकारी, रविन रेग्मी, चुडामणी धिमिरे लगायतको सक्रिय भुमिका रहेको थियो । सांगीतिक प्रस्तुतीको लागि संस्थाका बाँसुरीवादक लक्ष्मी सापकोटाले विशेष पहल गरेका थिए ।
११औं स्थापना दिवसकै अवसरमा सामाजिक संघसस्था, विभिन्न वर्ग र तप्काका व्यक्ति, प्रतिनिधीहरुलाई संस्थाको लोगो र चियाबारी अंकित मग र प्रशंसापत्र प्रदान गरिएको थियो ।
“जिउदाको जन्ती, मर्दाको मलामी, हामी ईलामेली” भन्ने मुलनारा बोकेको कतारमा कार्यरत ईलामेलीहरुद्धारा सन् २०१५ मा स्थापित ईलामेलीहरुको संस्था ईलाम सेवा समाजले विशुद्ध सामाजिक भावना र मर्मको आत्मसात गर्दै सामाजिक सांस्कृतिक संवाहकको रुपमा विविध क्षेत्रमा कतारमा सामाजिक कर्म गरिरहेको एक सक्रिय जिल्ला संस्था हो ।