दोहा, कतार – २३ जनवरी २०२६
नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा मञ्जुश्री संवत २८६२ औं सोनाम ल्होछारको पावन अवसरमा आयोजित वृहत सांस्कृतिक कार्यक्रम कतारको रमणीय स्थल अल दोसरी स्थित जु गार्डेन (Al Dosari Zoo & Game Reserve) मा भव्यताका साथ सम्पन्न भएको छ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृति संरक्षणमा क्रियाशील नेपाल प्रवासी तामाङ समाज कतारले मञ्जुश्री संवत २८६२ औं सोनाम ल्होछारको पावन अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कतारमा कार्यरत तामाङ समुदाय र अन्य नेपाली संघ-संस्थाको बाक्लो उपस्थितिका बीच कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।
कार्यक्रमको मुख्य आकर्षण तामाङ युवा युवतीको व्यापक सहभागिता थियो। तामाङ मौलिक भेषभूषा, स्याफ्रु,म्हेन्दोमाया, तामाङ सेलोको तालमा झुमेका युवा-युवती हरूको उर्जाले कतारको कार्यक्रमलाई काठमाडौंस्थित टुँडिखेलमा हुने ल्होछार महोत्सवको जस्तै झल्को दिएको थियो। प्रवासमा भए पनि आफ्नै गाउँघर र मौलिक सांस्कृतिक माहोलमा रम्न पाउँदा सहभागीहरू निकै उत्साहित देखिन्थे। कार्यक्रममा लगभग २५ सय भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो
समाजका अध्यक्ष सुबास तामाङको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथिको रूपमा लामा गुरु ङवाङ सोइपा लामा रहनुभएको थियो। कार्यक्रमको औपचारिक सत्रको सहजीकरण श्री पाख्रिङ तामाङले कुशलतापूर्वक गर्नुभएको थियो। कार्यक्रममा समाजका सल्लाहकार तेज मोक्तान तामाङले सोनाम ल्होछारको उत्पत्ति, धार्मिक महत्त्व र तामाङ समुदायको ऐतिहासिक पक्षबारे गहन जानकारी गराउनुभएको थियो।
दिप प्रज्वलन,लामा गुरुद्वारा पुजा सहित राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा कलाकारहरुले स्वागत नृत्य तथा "साङ सेरगेम" प्रस्तुत गरेका थिए । संस्थाका दृतिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोइराम तामाङको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा संस्कार र संस्कृति झल्काउने मौलिक तामाङ साँस्कृतिक सेलो नृत्य तथा गीत संगीत, परम्परागत डम्फु, म्हेन्दोमाया नृत्य सहित १८५४ देखि १८५६ नेपाल तिब्बत युद्ध झल्काउने घोडा नाचको विशेष आकर्षक रहेको थियो । तिन दर्जन बढी कलाकारले तामाङ जातिको संस्कार–संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कतारमा स्थापित मातृ संस्थाहरूका तर्फबाट नेपाल प्रवासी तामाङ समाज कतारलाई मायाको चिनो प्रदान गरिएको थियो। यस कार्यले प्रवासमा रहेका नेपाली संस्थाहरूबीचको आपसी सद्भाव, समन्वय र एकतालाई थप बलियो बनाएको छ।
शुभकामना मन्तव्य राख्दै नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ र सम्पुर्ण संघ संस्थाको तर्फबाट भुजेल समाज कतारका अध्यक्ष बिकास भुजेलले शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले आफ्नो पहिचान र संस्कृति जोगाउन प्रवासमा रहेर पनि तामाङ समाजले खेले भूमिकाको प्रशंसा गर्नुभयो।
सांस्कृतिक कार्यक्रमको सहजीकरण अप्रिल लामाले गर्नुभएको थियो, जहाँ स्थानीय कलाकारहरूले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए। सोही अवसरमा समाजले हालै वैवाहिक जीवनमा बाँधिएका नयाँ जोडीहरूलाई मञ्चमा निम्त्याएर बधाई दिँदै सुखद दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेको थियो।
अन्तमा, कार्यक्रमका सभापति एवं अध्यक्ष सुबास तामाङले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने कार्यसमिति सदस्यहरू, कलाकार, स्वयंसेवक र सहयोगी दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो। तामाङ संस्कृति, खानपान र भेषभूषाले भरिएको यो कार्यक्रमले कतारमा रहेका नेपालीहरूलाई भावनात्मक रूपमा आफ्नो मातृभूमिसँग जोड्ने काम गरेको थियो।
तामाङ मौलिक भेष,भुषामा सजिएर आएका करिव २५ सय बढि दर्शकले तामाङ सेलो, म्हेन्दोमायाँ,नेपाली लगायतका साङ्गितिक प्रस्तुतिमा रमाउदै शाँझ ८ बजे सम्मपनि भरपुर्ण मनोरञ्जन लिए ।