दोहा, कतार
'भुजेल जातिको विकास र उन्नतिको आधार: सांस्कृतिक चेतना, शिक्षा र रोजगार' भन्ने मूल नाराका साथ प्रवासी भुजेल समाज कतारको आठौं महाधिवेशन दोहामा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले सन्तोष भुजेल (कास्की) को अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
महाधिवेशनको खुल्ला सत्र समाजका अध्यक्ष विकास भुजेलको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव दुर्गा भुजेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने विभिन्न वक्ताहरूले कतारको नेपाली समाजमा भइरहेको विकासक्रमका साथै समाजमा विकृतिका रूपमा देखिएका केही पछिल्ला घटनाहरूका बारेमा चिन्ता व्यक्त गर्दै आफ्ना धारणाहरू राखेका थिए। उनीहरूले प्रवासमा रहेका नेपालीहरू मर्यादित र एकताबद्ध हुनुपर्नेमा जोड दिए।
समाजका संरक्षक शिव भुजेलले संस्थाको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मको यात्राबारे प्रकाश पार्नुभएको थियो I विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका अध्यक्ष पदम गिरीले एनआरएनएमा केन्द्रमै ‘फर्गेट यास्टर्डे’भन्दै एकताको महाधिवेशन हुन लागेको र कतारमा पनि छिट्टै एकता हुने विश्वास व्यक्त गरे ।
गिरिले आफूले नेतृत्व गरेको एनआरएनए सिस्टमलाई फ्लो गरेको श्रमिकको एनसीसी रहेको बताउँदै अबको केही हप्तामा एक एनसीसी हुने बताए ।
नयाँ कार्यसमिति:
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा दुर्गा भुजेल (गोरखा), प्रथम उपाध्यक्षमा श्रीमान् जी सी भुजेल (लमजुङ), द्वितीय उपाध्यक्षमा गीता भुजेल (धादिङ) र महिला उपाध्यक्षमा शर्मिला भुजेल (सिन्धुली) लाई चयन गरेको छ। महासचिवमा नयन भुजेल (सर्लाही), सचिवद्वयमा शारदा भुजेल र मोहन कुमार भुजेल (झापा), कोषाध्यक्षमा विष्णु भुजेल (स्याङ्जा) र सह–कोषाध्यक्षमा चन्द्र बहादुर भुजेल (धादिङ) रहनुभएको छ।
लेखा समिति संयोजकमा रोज बहादुर भुजेल (सिन्धुली) र सदस्यमा कुसुम भुजेल (स्याङ्जा) चुनिनुभएको छ। सदस्यहरूमा चित्रबहादुर जी.सी. भुजेल (कास्की), देवी भुजेल (मोरङ), कुमारी भुजेल (झापा), देवबहादुर भुजेल (स्याङ्जा), चित्र भुजेल (स्याङ्जा) र सविता भुजेल (धादिङ) रहनुभएको छ।
सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक नियम भुजेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख, समाजसेवी, व्यवसायी, कलाकार र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। सन् २०१० मा स्थापित प्रवासी भुजेल समाज कतारले प्रवासमा सांस्कृतिक पहिचान र श्रमिक हकहितका लागि काम गर्दै आएको छ।